पूर्व राष्ट्रपतिले घरभाडा नतिरेको भन्दै सार्वजनिक सूचना, घर खाली गर्न १५ दिने म्याद

सहयात्रा टिभी

काठमाण्डौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले घर भाडा वापतको मोटो रकम नदिएको भन्दै सार्वजनिक सूचना प्रकाशित भएको छ । सरकारले गत साउन महिनादेखि पूर्व राष्ट्रपतिले आवासको रुपमा प्रयोग गर्दै आएको घरको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् ।

यसरी सूचना प्रकाशित भएपछि पूर्व राष्ट्रपतिको सार्वजनिक रुपमै बेइज्जती भएको छ । पूर्व राष्ट्रपति यादव ललितपुर–४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्व राष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको थियो ।  घरबेटी विष्टले सोमबार एक राष्ट्रिय दैनिकमा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्व राष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् ।

प्रकाशित सूचनामा उल्लेख छ–‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४-४-१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भई जाने व्यहोरा सादर अनुरोध छ ।’ पूर्व राष्ट्रपति यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासले आवास सेवा उपलब्ध गराउँदै आएको विष्टले जारी गरेको सूचनामा उल्लेख छ । तर, गत साउनदेखि राष्ट्रपति कार्यालय र पूर्व राष्ट्रपति यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा नतिरेको विष्टले गुनासो गरेका छन् । आफूले राष्ट्रपति कार्यालय शीतल निवास र पूर्व राष्ट्रपति यादवलाई पनि पटक–पटक ताकेता गर्दा पनि घरबाट नहटेकाले बाध्य भएर सूचना जारी गर्नुपरेको घरबेटी विष्टको तर्क छ । नेपाल सरकारले उच्च सम्मान गर्नुपर्ने पूर्व राष्ट्रपतिले भाडा तिर्न नसकेर यस्तो सूचना निस्कनु स्वयम् पूर्व राष्ट्रपतिको त अपमान हो नै,  यसबाट सिङ्गै राष्ट्रले लज्जित हुनुपर्ने अवस्था  सिर्जना भएको जानकारहरुले टिप्पणी गरेका छन् ।

प्रकाशित : 6 November, 2017

प्रतिक्रिया दिनुहोस्