चुनाव प्रचारमा हेलिकप्टर चार्टर !

सहयात्रा टिभी

गोरखा । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेद्वारहरुलाई आचारसंहित पालनाका लागि सचेत हुन आग्रह गरिरहेका बेला गोरखामा भने यसको ठाडो उल्लंघन भएको छ ।

नेपाली कांग्रेसबाट क्षेत्र नम्बर–१ प्रदेश ‘ख’ का उम्मेद्वार राजेन्द्र बजगाईले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै हेलिकप्टर चार्टर गरेर चुनाव प्रचार–प्रसार थालेका छन् । आज बिहानै उनी हेलिकप्टर लिएर गोरखाको उत्तरी भेगस्थित चुमनुव्री गाउँपालिकाको विभिन्न क्षेत्रमा पुगेको स्थानीयले जानकारी दिएका छन् । उनले चुनाव प्रचार गरेको स्थलको तस्विरमा दुई वटा हेलिकप्टर देखिएको छ । कांग्रेस सभापति तथा प्रदेशका समानुपातिक तर्फमा उम्मेद्वार हरिबहादुर घले पनि उनीसँगै छन् । जिल्ला सुरक्षा समितिले बजगाईको कार्यक्रमबारे थाहा नभएको जनाएको छ । सामागाउँबाट ल्होतर्फ उम्मेद्वार हेलिकप्टरमा उडेको स्थानीयले बताएका छन् ।

‘आज उम्मेद्वार सम्र्पकबिहीन हुनुहुन्छ, सुरक्षा समितिमा जानकारी छैन’–एक सुरक्षा प्रमुखले नाम उल्लेख नगर्ने शर्तमा भने । चुनावी कार्यक्रमबारे सुरक्षा समितिलाई पूर्व जानकारी दिनुपर्ने भए पनि उनले जानकारी बिना हेलिकप्टर चार्टर गरेर त्यसतर्फ सुटुक्क गएको स्रोतको दावी छ ।  निर्वाचन अयोगका सहसचिव विकास तिमिल्सिनाले बजगाईले हेलिकप्टर चार्टर गरेकोबारे जानकारी नभएको बताए । ‘अनुमति लिएको मेरो जानकारीमा छैन’–उनले भने । बजगाईले हेलिकप्टर चार्टर गरेर प्रचार–प्रसार थालेपछि माओवादी र एमालेका उम्मेद्वारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति नलिएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताएका छन् । ‘निर्वाचन आयोगमा मौखिक रुपमा सोध्दा अनुमति नलिई हेलिकप्टर उडाएको भन्ने पाइयो’–उनले भने–‘उजुरी परेपछि कार्वाही गर्न लिखित रुपमा आयोगसँग सोध्ने तयारी गरेका छौं । उक्त प्रदेशमा वाम गठबन्धनबाट एमाले नेता रामशरण बस्नेत बजगाईका प्रतिष्पर्धी छन् भने क्षेत्र नम्बर–१ मा कांग्रेस नेता चिनकाजी श्रेष्ठ र माओवादी नेता हरिराज अधिकारीबीच प्रतिष्पर्धा छ ।

प्रकाशित : 6 November, 2017

प्रतिक्रिया दिनुहोस्