आक्रामक बन्दै अख्तियार, एकै पटक दुई सय सरकारी अधिकारीको सम्पत्ति छानविनमा
काठमाण्डौं । विद्युत ट्रान्सफर्मर खरिद प्रकरण सतहमा आएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक दुईसय सरकारी अधिकारीले अकुत्त सम्पति आर्जन गरेको आशंकामा छानविन शुरु गरेको छ ।
आयोगले एकै पटक ठूलो संख्यामा अवकास प्राप्त र वहालवालासहितका उच्च अधिकारीविरुद्ध अनुसन्धान थालेको हो । सुरक्षा निकाय, सिंचाई, खानेपानी, सडक, भौतिक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य मन्त्रालय अन्तर्गतका उच्च अधिकारीको सम्पत्ति छानविन थालेको आयोगले जनाएको छ ।
अख्तियारको अकुत सम्पत्ति छानविनमा ४० इन्जिनियर, २० सुरक्षा निकायका उच्च पदस्थ अधिकारी र पाँच जना सचिव समेत रहेका छन् । त्यस्तै, २० डाक्टर, विभिन्न सार्वजनिक संस्थानका प्रमुख समेत अख्तियारको अकुत सम्पत्ति छानविनको दायरामा परेका छन् । ‘अकुत सम्पत्ति छानविन सूचीमा परेका केहीसँग अहिले पनि अख्तियारमा बयान चलिरहेको छ । शंकाको घेरामा रहेका बाँकीलाई पनि वयानका लागि बोलाउने तयारी अख्तियारको रहेको बताइएको छ ।’ अख्तियार अन्तर्गतकै ‘इन्टेलिजेन्स एजेन्सी’ ले दिएको रिर्पोटका आधारमा उनीहरुमाथि छानविन थालिएको हो ।
अर्थ मन्त्रालय अन्तर्गतको राजश्व न्यायाधिकरण, भन्सार भन्सार कार्यालय, क्षेत्रीय डिभिजन कार्यालय, सडक डिभिजन, स्वास्थ्य, तत्कालिन स्थानीय निकायका अधिकारीहरू पनि छानविनमा परेका अख्तियार स्रोतले बताएको छ ।अख्तियारले आइतबार मात्रै पूर्व प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सचिव गजेन्द्रकुमार ठाकुरलगायतका चार उच्च अधिकारीसँग बयान लिएको थियो । अख्तियारले ट्रान्सर्फमर खरिद काण्डमा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्व सचिव विश्वप्रकाश पण्डित र हालका सचिव अर्जुन कार्कीको बयान लिएको छ ।यसअघि अख्तियारले अकुत सम्पत्ति आर्जनमा एक हजार पाँच सय सरकारी अधिकारीको नाम छानविनका लागि तयार गरेको थियो । त्यसबाट बयानका नामावली सूची तयारगरी पाँच सय अधिकारीको नाम तयार गरिएको अख्तियार स्रोतले जनाएको छ । पाँच सयमध्येबाट पनि यस पटक दुई सयमाथि छानविन थालिएको हो ।