पाँचथरमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा
पाँचथर । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पाँचथरमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिष्पर्धा देखिएको छ । पहिलो चरण अन्तर्गत मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई गरी जम्मा तीन जना प्रत्यक्षतर्फबाट निर्वाचित हुनेछन् ।
नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धका उम्मेद्वारबीच पाँचथरमा कडा टक्कर हुने अनुमान गरिएको छ । पाँचथरमा एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेका छन् । जसमध्ये फिदिम नगरपालिका र तीन वटा गाउँपालिका गरी चार वटा स्थानीय तह नेपाली कांग्रेसले जितेको थियो । तीन वटा गाउँपालिका एमाले र एउटा गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।
प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा निवर्तमान सांसद भिष्मराज आङ्देम्बे चुनावी मैदानमा छन् । वाम गठबन्धनबाट नेकपा एमालेका नेता तथा पुर्व सांसद बसन्त नेम्वाङ प्रतिनिधि सभा सदस्यका लागि आङ्देम्बेसँग भिड्दैछन् । प्रदेश सभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस सभापति नरेन्द्रकुमार केरुङ चुनावी मैदानमा छन् । केरुङलाई टक्कर दिन वाम गठबन्धनबाट एमाले नेता तथा निवर्तमान सांसद गणेश काम्वाङ मैदानमा छन् । संविधान सभाको दोस्रो चुनावमा पनि केरुङ र काम्वाङबीच प्रतिष्पर्धा भएको थियो ।
प्रदेश सभा ‘ख’ मा कांग्रेसका पुराना नेता सुरेन्द्रकुमार दाहाल चुनावी मैदानमा छन् । वाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका माओवादीका पोलिटव्युरो सदस्य इन्द्र आङ्बो (मौसम) प्रदेश सभा ‘ख’ मा दाहालसँग प्रतिष्पर्धा गर्दैछन् । प्रतिनिधि सभाका उम्मेद्वार आङ्देम्बे र नेम्बाङलाई केन्द्रीय राजनीतिमा पहुँच राख्ने नेताको रुपमा हेरिन्छ । आङ्देम्बेलाई पार्टीभित्र सभापति शेरबहादुर देउवा लाइनका नेताको रुपमा चिनिन्छ भने नेम्वाङलाई एमाले अध्यक्ष केपी ओलीको विश्वास पात्रको रुपमा हेर्ने गरिन्छ । दुई ठूला पार्टीका प्रमुखको विश्वासपात्रको पहिचान बनाएका आङ्देम्बे र नेम्वाङ्को चुनावी भिडन्त निकै रोचक हुने पाँचथरबासीको अनुमान छ ।