आत्मनिर्भर बन्दै महिला

सहयात्रा टिभी

इलाम । गाउँ छोडेर एक्कासी इलाम सदरमुकाम आउँदा इलाम सोयाङ्गकी देवकुमारी लिम्बूले जीवन चलाउनका लागि अब के गर्ने भन्ने बाटो लामो समयसम्म देखिनन् ।

काठमाडौं बस्दा सिकेको ढाका बुन्ने सीप हातमा भए पनि सिलाइ–कटाइको पसल धमाधम खुलिरहेका बेला लिम्बूलाई ढाका उद्योगमा लगानी गर्न दोमन समेत भयो । तर, सबैले गरेको भन्दा फरक काम गर्ने सोंचले ढाका उद्योग खोलेकी देवकुमारीलाई अहिले यहि व्यवसायले नाम र दाम दुबै पाउने मार्गमा डोहो¥याईरहेको छ । ‘न्यू सम्झना ढाका उद्योग’ को नाममा खुलेको देवकुमारीको उद्योगले दामसँगै उनको परिचय नै बदली दिएको छ । प्रवेशिका (एसएलसी) उत्तीर्ण गरेकी ताप्लेजुङ फुङलिङ–५ की कविता सुब्बाले ताप्लेजुङ्ग सदरमुकाम फुङलिङमा ढाकाको कपडा पसल सञ्चालन गरेको सात वर्ष भयो । पसलबाट मात्रै उनले सिजनमा मासिक १५ हजार रुपैयाँसम्म चोखो नाफा कमाउँछिन् । केही समयअघिसम्म एक–दुई सय रुपैयाँ पनि अरुसँग माग्ने सुव्वाले कसैको भर नपर्ने सोच बनाएर काम गर्न थालेपछि अरुलाई समेत ऋण दिन सक्ने भएकी हुन्् ।

सधैं ग्राहकहरुको भीड लाग्ने उनको पसलमा विशेष गरेर नयाँ पिढीका महिला तथा पुरुषका लागि आकर्षण बनेको कुर्ता–सलवार, चौबन्दी चोली, बेड कभर, मफ्mलर, ढाकाटोपी, टाई, सर्ट, पर्स र बच्चाका लागि जुत्ता समेत राखिएका छन् । पूवी पहाडकै नाम कहिलिएको तेह«थुमको नविन विकास ढाका उद्योग र पाँचथरको सेलिङ ढाका उद्योगबाट खरिद गरिएका ढाकाका विभिन्न प्रकारका बस्त्र उनको पसलमा छन् । शुरुमा २० हजार जति रकम लगानी गरेर थालेको पसलमा अहिले तीन–चार लाख भन्दा माथिको जेथो जम्मा भएको छ । ‘मेहनत र परिश्रम गर्न सके पैसा कमाउनका लागि ठूलो लगानी गरेर विदेश नै जानु नपर्ने रहेनछ’–उनले भनिन्–‘जोश र जाँगर भए यहीं  सुन फल्छ ।’ इलाम सदरमुकाममा पाँच वर्षदेखि सम्झना ढाका उद्योग सञ्चालन गर्दै आएकी देविका लिम्बू अहिले जिल्लाकै उद्यमी महिलाका रुपमा गनिन्छिन् । थोरै लगानी गरेर मेहनतपूर्व शुरु गरिएको उनकोे उद्योगबाट अहिले जिल्लाका धेरै महिला ढाका उद्योगका व्यवसायी बनेका छन् । उनकै उद्योगबाट तालिम लिएर सदरमुकामलगायत जिल्लाका मंगलबारे, फिक्कल जस्ता बजारहरुमा समेत महिलाहरुले ढाका उद्योग सञ्चालन गरेका छन् ।

ती उद्योगहरुबाट व्यवसायीको आम्दानी त छ नै सय जनाभन्दा बढी महिलाले रोजगारी समेत पाएका छन् । अहिले देविकाकै उद्योगमा पनि आधा दर्जन बढी महिला कार्यरत छन् । ‘ढाकाको बजारमा केही सुधार भए अझ धेरै महिला स्वरोजगार बन्न सक्छन्’–उनी भन्छिन्–‘सरकारले पनि केही सहयोग गरे शहरमा मात्र होइन गाउँ–गाउँमा रोजगारी सिर्जना हुन्छ ।’ पछिल्लो समयमा ढाकाको व्यापार बढ्दै गएको उनको भनाई छ ।  इटहरी सीप विकास केन्द्रबाट छ महिनाको सिलाइ–कटाइ तालिम लिएर ताप्लेजुङ्ग सदरमुकाम फुङलिङमा कञ्चनजंङ्घा सिलाइ–कटाइ तालिम केन्द्र खोलेकी बलमाया गुरुङले पनि अहिले आफ्नो केन्द्रमा लाग्ने खर्च कटाएर घर परिवार धानेकी छन् । मासिक ८÷१० हजार रुपैयाँसम्म आम्दानी हुने उनको पसलबाट हिउँदको समयमा, विवाह जस्ता अवसर र दशैं तिहारका बेलामा त मासिक १४ देखि १६  हजारसम्म आम्दानी हुन्छ । ‘सानो लगानीबाटै धेरै आर्जन गर्न सकिने देखेपछि यो व्यवसाय थालेको हँु’–उनले भनिन्–‘घाटा हुन्छ भन्ने नै हुँदैन् ।’ शुरुमा १५ हजार लगानी भएको यो तालिम केन्द्रबाट अहिले जिल्लाका दर्जनभन्दा बढी संघ संस्थामार्फत करीव ५ सय जना महिलाले सिलाइ–कटाइको प्रशिक्षण लिइसकेका छन । तालिम लिने अधिकांशले यसकै व्यवसायबाट जीवन चलाइरहेका छन् ।  कविता, देविका र बलमाया मात्र होइन ।

पूर्वी पहाडी जिल्लाहरुका धेरै महिलाहरु अहिले उनीहरुकै सिको गरेर ढाका व्यवसायबाट आत्मनिर्भर भइरहेका छन् । धेरैजसो महिलाले आफैं व्यवसाय गरेर घर परिवार चलाउन थालेका छन् । उनीहरुमध्ये धेरैले ढाकाको कपडा उत्पादन र व्यापार गर्दै आएका छन् भने अन्यले सिलाइ–कटाइ व्यवसाय सञ्चालन गरेका छन् । महिलाहरुले साधारण चटपटे पसलदेखि लिएर होटल र रेष्टुरेण्टसम्म सञ्चालन गरी आत्मनिर्भर बन्ने प्रयासमा लागेका छन । अधिकांश महिलाहरु आ–आफ्नो व्यवसायबाट आम्दानी र सन्तुष्टि पनि दुबै लिइरहेको बताउँछन् ।  स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्दागर्दै पुस्तकालय खोलेकी फुङलिङ–३ की राजकुमारी इजमको काम शुरुशुरुमा पुस्तकालयमा समय विताउनु मात्र भयो । तर, अहिले त्यहि पुस्तकालय उनका लागि आम्दानीको दर्विलो स्रोत बनेको छ । पुस्तकालयमा दैनिक आउने पाठकहरुबाट केही न केही नयाँ कुरा सिक्नु त छ नै, शैक्षिक सत्रको शुरुमा र परीक्षाका बेलामा त ग्राहकहरुको ओइरो नै लाग्ने गरेकाले मासिक ७÷८ हजार रुपैयाँ आम्दानी पनि हुने गरेको उनको भनाइ छ । उनीहरु पुस्तक पढे वापत निश्चित शुल्क दिने गरेका छन् । सौताको अन्याय सहन नसकेर सदरमुकाममा आएकी विमला बुढाक्षेत्रीको पनि आम्दानीको मुख्य स्रोत चटपटे पसल नै हो । आङखोप गाविस–८ स्थित बुङरुङ प्राविका शिक्षक चैतन्य बुढाक्षेत्रीसँग कान्छी श्रीमतीको रुपमा विवाह गरेर २ सन्तान समेत भएपछि सन्तानसँगै घर छाडेकी उनले ८ वर्षदेखि सदरमुकाममा चटपटे पसल सञ्चालन गरिरहेकी छन् ।

अहिले आफ्नो परिवार पाल्ने र दुवै छोरीलार्ई सेन्टमेरीज इङलिस बोर्डिङ स्कुलमा पढाउने खर्च चटपटे पसलले नै धानेको उनी बताउँछिन् । शुरुमा करीब ७ हजार लगानी गरेर पसल थालेकी बुढाक्षेत्री अहिले स्थानीय कञ्चनजङ्घा बचत सहकारी संस्थामा दैनिक एक सय रुपैयाँ बचत गर्न समेत सक्षम भएकी छन् । ‘अहिलेसम्मको मेरो बचत करीब एक लाख जति भयो होला’–उनले भनिन्–‘दुई छोरीको शिक्षा दीक्षाको लागि कसैसँग हात जोड्नु पर्ने अवस्था छैन ।’  पाँच वषअघि कमाएर ल्याउने आफ्ना श्रीमान्को दुर्घटनामा मृत्यू भएपछि इलाम सदरमुकामस्थित धोविधाराकी कमला घिमिरेलाई अब कसरी परिवार चलाउने भन्ने चिन्ताले धेरै सतायो । दुई छोराछोरीको लालन पालन गर्ने र विद्यालयमा पढाउने खर्च कसरी धान्ने भन्ने अन्योलमा परेकी घिमिरेले केही रकम लगानी गरेर चटपटे पसल खोलेपछि विस्तारै यो चिन्ता हटेको छ । चटपटे पसलबाटै मासिक रुपमा ४÷५ हजार रुपैयाँसम्म चोखो आम्दानी गर्दै आएकी घिमिरेले त्यसकै आम्दानीबाट आफ्ना दुई छोराछोरीलाई विद्यालय र क्याम्पस पढाइरहेकी छन् ।

‘कमाउने एक्लै भए पनि कसैसँग हात थाप्नु परेको छैन’–उनले सुनाइन् ।  अहिले पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ्ग र तेह«थुमका अधिकांश महिलाहरु आफैं व्यवसाय गरेर आत्मनिर्भर बनेका छन् । परिवारका पुरुषको कमाइले मात्र खानुपर्ने र महिलाहरुले सधैं घरको चुल्हो र चौकामा सीमित नभइ केही उद्यम गरेर पनि जीविकोपार्जन गर्न सक्छन् भन्ने उदाहरण देखाएकोमा आफूहरुलाई गौरव लागेको उनीहरुको अनुभव छ । काम गर्ने सोच र जाँगर भए थोरै लगानीले पनि जीवन धान्ने रहेछ भन्ने लागेको बुढाक्षेत्रीले सुनाइन् । ‘धेरै लगानी र शहरमा गरिएको व्यापारले मात्र आम्दानी दिने होइन रहेछ ।’ महिलाहरुको उद्योग सञ्चालनका लागि सरकारले पनि केही लगानी गरिदिए रोजगारीका धेरै अवसर आउने व्यवसायीहरु बताउँछन् । यसका लागि सरकारले महिलाहरुलाई विना धितो ऋण र व्याजमा सहुलियत दिए आफैंले महिलाहरुलाई रोजगारी दिएर आत्मनिर्भर बनाउन सक्ने उनीहरुको भनाई छ ।

प्रकाशित : 7 November, 2017

प्रतिक्रिया दिनुहोस्