एक लाख घुससहित समातिए हेल्थ असिस्टेन्ट
रौतहट । अख्तियार दुरुपयोग आयोगले रौतहट जिल्ला अस्पताल गौरका एक जना हेल्थ असिस्टेन्टलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
ठेकेदारसँग घुस मागेको आरोपमा जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ गरेको हो । अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले हेल्थ असिस्टेन्ट झालाई एक लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
जिल्ला अस्पताल गौरमा मर्मत तथा रंङ्गरोगनको ठेक्का लिएका एक ठेकेदारसँग झाले रकम लिएको आरोप छ । जापनीज संस्था कोइकाले समेतले लगानी गर्दै गरेको जिल्ला अस्पतालको स्तरोन्नतीको कामको जिम्मा समेत उनै ठेकेदारले लिएका थिए । काम गर्ने क्रममा पटक–पटक रकम मागेर हैरान बनाएको भन्दै ठेकेदारले अख्तियारलाई गुहारेका थिए । इमरजेन्सी इन्चार्ज झालाई कार्यकक्षमै अख्तियारको टोलीले नगदसहित नियन्त्रणमा लिएको हो । यता इन्जार्च झाले भने आफूले ठेकेदारसँग सापटी रकम सापटी मागेको बताएका छन् ।