राष्ट्रिय गौरवको आयोजनामा लाजमर्दो लापर्वाही, ८ अर्बको आयोजनाको लागत ३५ अर्ब पुग्दै

सहयात्रा टिभी

काठमाण्डौं । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिंदै निर्माणको कामलाई चुस्त बनाउने दावी गरे पनि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको काम हेर्दा ठाउँ–ठाउँमै लापर्वाही देखिएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवस्था चुस्त हुन सकेको छैन । आठ अर्व लागत अनुमान गरिएको यस आयोजना सञ्चालनमा ल्याउने समयसम्ममा लागत खर्च झण्डै ३५ अर्ब रुपैयाँ पुग्ने देखिएको छ । नागरिक उड्ययन प्राधिकरणको पछिल्लो अध्ययनले विमानस्थलको लागत खर्च बढ्ने देखाएको छ । आयोजना सञ्चालन भएको दुई वर्षमा २६ प्रतिशत मात्र काम भएको छ ।

सरकारले एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण शुरु गरेको आयोजना निर्माणका लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा हेरिएको उक्त विमानस्थलको काम समयमा सम्पन्न नहुँदा तथा दोस्रो चरणको काम विस्तारका लागि मुआब्जा वितरण तथा अन्य लागत खर्च बढ्दा लागत चार गुणाभन्दा बढी पुग्ने देखिएको प्राधिकरणको अध्ययनले देखाएको छ । कति जग्गा कुन आयोजनालाई चाहिने हो भन्ने विषय विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) मै आउनुपर्ने भए पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि धावनमार्ग र टर्मिनल भवनको विषयमा मात्रै अध्ययन गरेको पाइएको छ । जहाजको लागि पम्प कहाँ राख्ने विषय समेत डिजाइनमा समावेश छैन । प्राधिकरणले पनि आयोजनाको डीपीआरमा धेरै विषय छुटेको स्वीकारेको छ ।  अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न विमानस्थल निर्माण गर्ने भएकाले क्षेत्र धेरै आवश्यका पर्छ तर, हालसम्म पनि जग्गा अधिग्रहण गरिएको छैन ।

अत्यन्न महँगो भइसकेको उक्त क्षेत्रमा अब मुआब्जा वितरण गर्दा २३ अर्ब रुपैयाँ छुट्याउनुपर्ने प्राधिकरणको एक अध्ययनले देखाएको प्राधिकरणले जानकारी दिएको छ । विमानस्थल वरपर ठूला भवन, घर तथा संरचना निर्माण भइसकेकोले अब मुआब्जा वितरण गर्दा आयोजनाको लागत महँगो पर्ने भएको हो । विमानस्थल निर्माणका लागि चाहिने जग्गाको मुआब्जाका लागि पहिलो चरणमै ३ अर्ब रुपैयाँ थपिएको छ, जुन चालु आर्थिक वर्षमा नै निकासा दिने गरी प्राधिकरणले बजेट तयार गरेको छ ।

पहिलो चरणको काम सम्पन्न गर्न नै ११ अर्ब ५५ करोड लागत पुग्ने भएको छ । जबकी यसअघिको अध्ययनमा ७ अर्बमा धावनमार्ग र टर्मिनल भवन तथा डेढ अर्बमा अन्य काम गर्ने गरी चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । विमानस्थललाई काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणको वैकल्पिक व्यवस्थाका रूपमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको दाबी प्राधिकरणले गर्दै आएको छ । स्तरोन्नतिपश्चात् गौतमबुद्ध विमानस्थलमा एयरबसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ । यस विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ ।

प्रकाशित : 7 November, 2017

प्रतिक्रिया दिनुहोस्