मैजारोतिर मेलम्ची, सुरुङ खन्ने काम दुई महिनाभित्र सकिने

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौंबासीले धेरै वर्षदेखि पर्खिबसेको मेलम्ची खानेपानी आयोजनाको काम मैजारोतिर पुगेको छ ।

अबको दुई महिनाभित्र सुरुङ खन्ने काम पूरा हुने मेलम्ची खानेपानी आयोजनाले बताएको छ । अहिले दैनिक १८ मिटरका दरले आयोजनाको सुरुङ खन्ने काम भइरहेको र अब एक हजार दुई सय मिटर मात्र सुरुङ खन्ने काम बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाले पुस १५ सम्ममा सुरुङको काम पूरा गर्ने दावी गरेको छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बताए । मेलम्ची खानेपानीको दोस्रो फेजका रूपमा लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य यसै वर्ष शुरु हुनेछ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । डिपिआर पास भएलगत्तै लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य अघि बढ्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक देवकोटा बताउँछन् ।

उनका अनुसार लार्के र यांग्रीको पानी राजधानी ल्याउन ११ किमि सुरुङ खन्नुपर्छ । ‘लार्के र यांग्री खानेपानी आयोजनाका डिपिआर दुई महिनामा सकिने छ । त्यसलगत्तै सुरुङ निर्माणका लागि टेन्डर आह्वान हुनेछ । यसै आर्थिक वर्षभित्र काम शुरु गर्ने लक्ष्य छ’–उनले भने । लार्के र यांग्रीको डिपिआर स्पेनिस परामर्शदाता इपिसाले तयार गर्दैछ । १० महिनादेखि डिपिआर निर्माणमा लागेको इपिसाले दुई महिनाभित्र सबै काम सक्ने जनाएको छ । योजनाअनुसार लार्के र यांग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी काठमाडौं उपत्यका ल्याइने छ ।

यसपछि मेलम्ची खानेपानीको सुरुङ भएर दैनिक ५१ करोड लिटर पानी उपत्यका भित्रिने छ । सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउन २७.५८४ किमि सुरुङ खन्नुपर्ने हुन्छ । त्यसमध्ये २६.५८४ किमि सुरुङ खनिसकिएको छ । हालसम्म ९६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भइसकेको आयोजनाको भनाइ छ । यसक्रममा करीब २२ अर्ब रुपैयाँ सकिइसकेको छ । आयोजनाका लागि झन्डै २७ अर्ब रुपैयाँ बजेट विनियोजित गरिएको छ ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्