चुनावको मुखमा सडक स्याहार्दै महानगरपालिका

सहयात्रा टिभी

काठमाण्डौं । वर्षाको समयमा समेत खाल्डे सडक नस्याहारेको आरोप खेप्दै आएको काठमाण्डौं महानगरपालिकाले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावको संघारमा सडक मर्मतको नाममा बजेट छुट्याएको छ ।

सडक सुधारका लागि भन्दै महानगरपालिकाले ८० करोड रुपैंयाँ छुट्याएको छ । चुनावको संघारमै छुटिएको यो वजेटलाई काठमाण्डौंबासीले भने अर्थपूर्ण रुपमा हेरेका छन् । वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने भित्री सडकका खाल्डाखुल्डी पुर्ने काम थालेको छ । वर्षाको समयमा खाल्डा–खुल्डी पुर्दा दीर्घकालीन नहुने हुनाले कामपाले हिउँदको समयमा सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने कामलाई तीव्रता दिन थालेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । अहिले नरदेवी, कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको पनि प्रमुख शाक्यले जानकारी दिए ।

कामपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने आठ मिटरभन्दा कम चौडाइका सडक विस्तार र स्तरोन्नतिका लागि भनेर रु ८० करोड बजेट छुट्याएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । ८० करोडमध्ये २५ करोड साना सडकको खाल्डा पुर्नको लागि र रु ५५ करोड काठमाडौँका अन्य सडक निर्माणको लागि खर्च गरिने ढकालले बताए । कामपाका अनुसार मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुर्ने काम सकेर कालोपत्रे गर्न शुरु गर्ने योजना रहेको छ । सडक निर्माणको काम वर्षाको समयमा भन्दा हिउँदमा सहज हुने भएको हुनाले पनि अहिले काम शुरु गरेको कामपाको भनाइ रहेको छ ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्