पूर्व आईजीपी अर्यालविरुद्ध मुद्दा दर्ता हुँदै

सहयात्रा टिभी

काठमाण्डौं । अख्तियार अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ ।

आयोगले उनीहरुको बयान सकिएको जनाउँदै चाँडै नै मुद्दा दायर हुने जनाएको छ ।  ‘अब मुद्दा दर्ताका क्रममा केही बुझ्न आवश्यक भए मात्र बोलाइन्छ नत्र मुद्दा दर्ता हुन्छ’– अख्तियारका एक अनुसन्धान अधिकृतले भने । ३ फागुन २०७३ मा प्रहरी प्रमुखबाट अवकाश पाएका अर्याललाई अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले प्रारम्भिक छानबिन थालेको हो ।

अख्तियार स्रोतका अनुसार अर्याललाई सम्पत्ति विवरणसम्बन्धी १३ पानाको फारम समेत भराइएको थियो । उनले भरेको सम्पत्ति विवरण र आयआर्जनको कारण फरक परेपछि बयानका लागि बोलाइएको थियो । आयोगले अर्याल प्रहरी प्रमुख हुँदा प्रहरीको लत्ताकपडा र सवारी साधन खरिद तथा सप्तरी पुख्र्यौली घर भए पनि सिन्धुलीमा धेरै जग्गा भेटिएपछि अनियमितता गरेको आशंका गरेको थियो । उनलाई गत आइतबार नै बयानका लागि अख्तियारमा बोलाइएको थियो । बयानपछि उनको मुद्दा तयारी अवस्थामा रहेको आयोगले जनाएको छ ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्