‘सुम्निमा चोक’ घरलौरी महिला उद्यमी

सहयात्रा टिभी

इलाम । यस्तो महँगाईमा एक जनाको कमाईले कसरी घर चलाउनु ! केहि त गर्नै प¥यो नि ’–पाँचथर–९ सुम्निमा चोककी हरिमाया राईले नेपाली कागज बनाउँदै बढ्दो महँगीले पारेको मार सुनाइन् ।

सुम्निमा चोक घरैपिच्छे उद्यमी महिला भएको गाउँ हो । यहाँका पुरुषहरु बाहिरी काममा जाने र घरमा रहने अधिकांश महिलाहरुले छोराछोरी विद्यालय गएको खाली समयमा घरमा नै नेपाली कागज उद्योग चलाउँदै आएका छन् । यहाँका ५५ घर भन्दा बढी महिलाहरुले घरैपिच्छे नेपाली कागज उत्पादन गर्ने गरेका छन् । आफूहरुले झण्डै १५ बर्ष यतादेखि घरमै नेपाली कागज बनाएर बेच्दै आएको यहाँका महिला उद्यमीहरु बताउँछन् । थोरै जग्गा जमिन र श्रीमानले ज्यालादारी कामबाट कमाएको पैसाले घर चलाउन नसकिएपछि घरमा कागज उद्योग चलाएको हरिमाया बताउँछिन् ।

उनी भन्छिन्–‘धेरै टाढा काम गर्न जान सकिंदैन, बरु घरैमा काम ग¥यो बिरामी खर्च र छोराछोरी पढाउने खर्च जोहो भएको छ ।’ यहाँका महिला उद्यमीहरुलाई भ्याएसम्म पुरुषहरुले समेत सघाऊ पु¥याउने गरेका छन् । यहाँका महिलाहरुले घरैपिच्छे खोलेको हाते कागज उद्योगलाई कच्चा पदार्थ (अर्गेली) अभाव नहोस् भनेर जति भएको बारीमा अर्गेली रोप्ने गरेको र अपुग कच्चा पदार्थ किनेर समेत ल्याउने गरेको अर्की उद्यमी  तारा राईले सुनाइन् ।  उद्योगका लागि पाँचथरको राँके, पञ्चमीलगायतका स्थानबाट ७५ रुपैयाँ प्रतिकिलोका दरले अर्गेली किनेर ल्याई कागज बनाउने गरेको स्थानीय बलबहादुर राईले बताए । अर्गेली (लोक्ता) लाई कास्टिक सोडामा पकाएर बनाइने नेपाली कागज प्रति सयकडा दुई सय रुपैयाँमा स्थानीय लालीखर्कका व्यापारीहरुले घरैबाट लैजाने गरेको हरिमाया राईले जानकारी दिइन् । जाँगर चलाएर काम गर्दा आधा घण्टामा लेख्न मिल्ने कागज उत्पादन हुने गरेको सुनाउँदै हरिमायाले भनिन्–‘अर्गेली पकाउने दाउराको भाऊ बढेकाले खासै फाइदा छैन्, तर, अरु काम गर्ने ठाउँ नभएकाले घर खर्चसम्म चलेको छ ।’

जाडो र बर्खाको मौसममा कागज सुकाउन समस्या हुने भएकाले केहि महिना उद्योग बन्द राख्नु पर्ने सुनाउँदै तारा राई भन्छिन्–‘सरकारले केहि सहयोग गरे यहाँका महिलाले नेपाली कागज उद्योगलाई नमूना उद्योग बनाएर चलाउन सक्थे ।’ केहिअघि अलैंचीको डाँठ समेत मिसाएर कागज बनाउने गरेको तर, अलैचीको डाँठ मिसाएको कागज बेच्न कठिन भएकाले अहिले शुद्ध लोक्ताको मात्र कागज बनाउने गरेको यहाँका महिलाहरु बताउँछन् । पहिला नजिकै प्रशस्त लोक्ता पाइने तर अहिले सामुदायिक वनबाट कच्चा पद्धार्थ किन्नु परेकाले आफूहरु मारमा परेको बताउँदै तारा राई भन्छिन्–‘सरकारी सहयोग पाए, हामी केहि गर्ने थियौ ।’

पाँचथरका विभिन्न गाउँहरुमा हाते कागज उद्योग निजी लगानीमा खोलिएको भए पनि यस्ता साना उद्योगको विकासमा स्थानीय निकायले चासो पु¥याउन सकेको छैन । पाँचथरमा मात्र नभई इलामका विभिन्न क्षेत्रमा खोलिएका नेपाली हाते कागज उद्योग सरकारी सहयोग र कच्चा पद्धार्थ अभावमा बन्द भएका छन् । सरकारी कामकाजमा कागजातका रुपमा प्रयोग हुने गरेको नेपाली कागजको बजार बिस्तार, उद्योगीहरुमा लगानी र आवश्यक दक्ष जनशक्ति उत्पादनमा सरकारले सहयोग र चासो नदेखाउँदा नेपाली कागज उद्योग फस्टाउन नसकेको व्यवसायीहरु बताउँछन् ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्