बाहिरी चक्रपथको फाइल मन्त्रिपरिषदबाट स्वीकृत

सहयात्रा टिभी

काठमाडौं । १३ वर्षअघि घोषणा भएको काठमाण्डौं उपत्यका बाहिरको चक्रपथ निर्माणले अब मुर्तरुप लिने भएको छ । शहरी विकास मन्त्री दिलनाथ गिरीले चक्रपथ निर्माणकोफाइल सदर गरेपछि वहुप्रतिक्षित उक्त आयोजना निर्माणको ढोका खुलेको हो ।

बाहिरी चक्रपथ निर्माणको पहिलो चरणमा निर्माण गरिने चोभार–सतुङ्गलको ६ दशमलव ६ किमी जग्गा प्राप्तिको प्रस्ताव सदर भएसँगै बाहिरी चक्रपथ निर्माण कार्यान्वयनमा आउने भएको हो । मन्त्री गिरीले बाहिरी चक्रपथको जग्गा प्राप्तिको प्रारम्भिक अधिकारी तोक्ने र जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद् पठाउने फाइल स्वीकृत गरेका छन् ।  बाहिरी चक्रपथ आयोजना अधिकृत धुव्र सापकोटाका अनुसार फाइल सदर भएपछि रोकिएका कामहरू अघि बढाउन सहज भएको हो । सापकोटाले भने–‘मन्त्रिपरिषदमा फाइल पठाउने तयारी भए पनि सीमित प्रशासनिक काममा बाँकी रहेकाले चाँडै मन्त्रिपरिषदमा पठाउने र सोही दिन नै प्रस्ताव स्वीकृत हुने निश्चित भएको छ ।’

उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)अनुसार तत्कालका लागि पहिलो चरणमा बन्ने चोभार–सतुङ्गलको भौतिक पूर्वाधार विकासका लागि जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गा प्राप्तिका लागि प्रारम्भिक अधिकारी तोकिने छ । कूल ७१ दशमलव ९३ किलोमिटर लम्बाइको यस आयोजनाबाट १४ हजार घरधनी प्रभावित हुनेछन् भने ९० हजार रोपनी जग्गा अधिग्रहण गर्नु पर्नेछ । चालु आर्थिक वर्ष २०७४–७५ का लागि आयोजनाले १० करोड बजेट पाएको छ । आगामी असारसम्ममा सबै क्षेत्रको डीपीआर स्वीकृत गरी आगामी दशैंसम्ममा आयोजनाले समेट्ने सबै सडक खण्डको ट्रयाक खोलिसक्ने लक्ष्य राखिएको छ ।

काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणलाई व्यवस्थित गरी व्यवस्थित बसोवास र योजनाबद्ध विकास गर्ने मुख्य उद्देश्य आयोजनाको रहेको छ । आयोजना अन्तर्गत नै दातृ निकायको सहयोगमा काठमाडौंको कलङ्कीमा फ्लाई ओभर निर्माण गरिने छ । कूल ७२ किमीको लम्बाइमा उक्त आयोजनाले काठमाडौंको सीतापाइलादेखि बालाजु बाइपाससम्मको ३ दशमलव ७५ किमी साविकको चक्रपथमा जोडिन गएको छ । उक्त क्षेत्रमा बाहिरी चक्रपथको मुख्य सडक (ट्रङ्क रोड) ले ओगट्ने ५० मिटर सडक र सो सडकको दायाँ–बायाँको प्रभाव (२५० मिटर)को जग्गा समेटी, आवासीय,  व्यापारिक, खुला क्षेत्र विकास गरिने आयोजनाको अवधारणा रहेको छ ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्