लाइसेन्स नखुल्दा ‘हेवी’ गाडीका चालक उत्पादन ठप्प
काठमाण्डौं । सरकारले चार वर्षदेखि भारी सवारी साधनको लाइसेन्स नखुलाउँदा ‘हेवी’ गाडीका चालक उत्पादन ठप्प भएको छ । लामो समयदेखि भारी सवारी साधन (ट्रक, डोजर, लोडर, बस) लगायतको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नखुल्दा दक्ष चालक उत्पादन रोकिएको हो ।
सरकारले लाइसेन्स नखुलाउँदा काम सिकेकाहरु पनि लाइसेन्स लिनबाट बञ्चित भइरहेका छन् । जसका कारण उनीहरु सीप भएर पनि रोजगार बन्न पाएका छैनन् । भारी सवारी साधनकोे लाइसेन्स लिनका लागि कार, ट्याक्सी, जिपलगायतको लाइसेन्स अनिवार्य लिनुपर्ने व्यवस्था गरे पनि लामो समयदेखि लाइसेन्स नखुलाएपछि चालक समस्यामा परेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बेला बेलामा लाइसेन्स नखुल्दा भारी सवारी साधन चलाउने सवारी चालकको अभाव भइरहेको बताए । विगतमा उत्पादन भएका चालक रोजगारीका लागि विदेशिएका र लाइसेन्स नखुल्दा देशमा चालक अभाव खड्किएको उनले बताए । सिटौलाले अहिले मुलुकलाई ३० हजार भारी सवारी चालक आवश्यक रहेको जजानकारी दिए । अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष सोम तामाङ आफूले लामो समयदेखि दक्षताअनुसार लाइसेन्स दिनुपर्छ भन्ने आवाज उठाए पनि कतैबाट सुनुवाइ नभएको गुनासो गर्छन् ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे विगतमा लाइसेन्स लिने प्रक्रिया सहज भए पनि भारी सवारी साधनका लागि प्रक्रिया केही गाह«ो रहेको बताउँछन् । ‘कर्णाली, मेची र धौलागिरी बाहेक सबै अञ्चलबाट हामीले लाइसेन्स वितरण गरिरहेका छौं, धेरै सवारी साधनको लाइसेन्स छुट्टाछुट्टै मितिमा दिनुपर्ने भएकाले भारी सवारी साधनको लाइसेन्स वितरणमा ढिला भएको हो’–उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालमा २७ लाख ८३ हजार ४२८ र काठमाडौं उपत्यकामा १० लाख ४२ हजार ८५६ सवारी साधन छन् ।