प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनमा महिला उम्मेद्वार ७ प्रतिशत मात्रै !

सहयात्रा टिभी

काठमाण्डौं । पछिल्लो समय नेपालका महिलाहरुको शैक्षिक र चेतनास्तर माथि उक्सिसकेको बताइए पनि व्यवहारिक रुपमा हेर्दा त्यो अझै देखिंदैन । नेपाली महिलाहरु पुरुषको दाँजोमा अझै नेतृत्वदायी भूमिकामा पुग्न सकिरहेका छैनन् ।

जसको सूचकको रुपमा आसन्न निर्वाचनमा महिला उम्मेद्वारको सहभागितालाई हेर्न सकिन्छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महिला उम्मेद्वार ७ प्रतिशत मात्र छ । मंसिर १० गते हुने पहिलो चरणमा निर्वाचन हुने उच्च हिमाली तथा पहाडका ३२ जिल्लाका प्रतिनिधिसभातर्फको ३७ निर्वाचन क्षेत्रका लागि ३ सय २२ र प्रदेशसभाको ७४ क्षेत्रका लागि ४ सय ८१ उम्मेद्वारी परेको थियो ।

जसमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ २३ गरी जम्मा ४१ जना महिलाको उम्मेद्वारी परेको थियो । उम्मेदवारी परेका मध्य ५ महिलाले उम्मेदवारी फिर्ता लिएपछि महिला उम्मेदवारको संख्या घटेर ३६ पुगेको थियो । दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ताको भएको हो । प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ तथा प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । त्यसमा प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ जना अर्थात ७.११ प्रतिशत महिलाले मनोनयन दर्ता गराएका छन् । दोस्रो चरणको निर्वाचन मंसिर २१ गते सम्पन्न हुनेछ ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्