केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘एकातिर दैलो, अर्कोतिर भैलो’ मनाङका उम्मेद्वार काठमाण्डौंमै भोट माग्दै !

सहयात्रा टिभी

काठमाण्डौं । एकातिर गर्नुपर्ने काम अर्कोतिर गर्नुलाई नेपाली उखानमा ‘एकातिर दैलो, अर्कोतिर भैलो’ भन्ने चलन छ । आसन्न निर्वाचनमा मनाङका उम्मेद्वारको चाला हेर्दा पनि यहि नेपाली उखान जस्तै देखिएको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा भोट माग्न व्यस्त हुनु पर्ने मनाङका उम्मेद्वार भने अहिले काठमाण्डौंमै घरदैलो गरिरहेका छन् । प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको मनाङका कांग्रेसका तीनै जना उम्मेद्वार अहिले काठमाण्डौमैं छन् । एमालेका प्रतिनिधिसभा उम्मेद्वार काठमाण्डौं छन् भने प्रदेशसभाका उम्मेद्वार काठमाण्डौंमा मतदातासँग भेटघाट गरी गाउँ फर्केका छन् । स्वतन्त्र उम्मेद्वार पनि गाउँमै छन् । एमाले अध्यक्ष समेत रहेका प्रतिनिधिसभा उम्मेद्वार पोल्देन छोपाङ गुरुङले काठमाण्डौंका मतदातासँग भेटघाट गरिरहेको बताए । ‘गाउँमा चिसो बढ्यो । अलि सञ्चो नहोला जस्तो पनि भयो । काठमाण्डौंमै छु, यहींका मतदातासँग भेटघाट गरिरहेको छु–उनी भन्छन् ।

एमाले प्रदेश नं. ४ का सदस्य त्रिपल पी गुरुङले मतदातालाई भेटघाट गर्न पार्टीका उम्मेद्वार काठमाण्डौंमा आएको बताए । ‘हामी आफ्ना आफन्तलाई आफ्नै तरिकाले भेटघाट गर्दैछौं । केही दिनमै हामी मनाङ जान्छौं’–उनले भने । एमाले प्रदेश (क) का उम्मेद्वार दोर्जे डण्डुल गुरुङ काठमाडौंमा प्रचार सकेर गाउँ फर्केका छन् । प्रदेश (ख) का स्वतन्त्र उम्मेद्वार दीपक मनाङे भनिने राजीव गुरुङ पनि गाउँमै छन् ।   कांग्रेस सभापति समेत रहेका प्रतिनिधिसभा उम्मेद्वार टेकबहादुर गुरुङले पार्टीका तीनै जना उम्मेद्वार काठमाण्डौं रहेको बताए । ‘म झरेको साता दिन बित्यो । काठमाण्डौंमै घरदैलो गरिरहेका छौं’–उनले भने ।  उनले थपे–‘केही दिनमै मनाङ जान्छौं र गाउँमा प्रचार–प्रसार थाल्छौं ।’ काठमाडौंमा रहेका आफन्त, इष्टमित्र तथा पार्टीका ब्यक्ति र शुभचिन्तकसँग निरन्तर सम्पर्क र छलफल गरिरहेको उनले बताए । उनका साथमा कांग्रेस प्रदेश (क) का उम्मेद्वार चिन्तबहादुर घले, प्रदेश (ख) का उम्मेदवार कर्म गुरुङ छन् । उनीहरुले पनि दैनिक भेटघाटका कार्यक्रम गरिरहेका छन् ।

मनाङका आधाआधी मतदाता काठमाण्डौंमै रहेको अनुमान गरिन्छ । उम्मेद्वारले पनि आधाआधी मतदाता काठमाण्डौंमै रहेकाले काठमाण्डौंमै घरदैलो थालेको बताएका छन् । उनीहरुले मनोनयन दर्ता गरेपछि सबै गाउँमा एक चरणको प्रचार अभियान सञ्चालन गरिसकिएको बताएका छन् । उनीहरुको अनुसार माथिल्लो मनाङ र नारफूका प्रायस् ब्यापार ब्यवसायका लागि काठमाडौं छन् । मतदान गर्न उनीहरु गाउँ फर्किन्छन् ।मनाङमा कूल ५ हजार ८ सय ८१ मतदाता छन् । प्रतिनिधि तथा प्रदेशसभा चुनावमा सबैभन्दा बढी भ्राका आधारभूत विद्यालय केन्द्रमा ५ सय ३४ मतदाता र सवैभन्दा कम चामेस्थित गाउँपालिका भवन केन्द्रमा ४२ जना रहेका छन् ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्