एकै पटक चार चलचित्र !

सहयात्रा टिभी

काठमाण्डौं । एउटै चलचित्रले पनि हल पाउन मुस्किल हुने गरेको समयमा यस साता भने एकै पटक चार चलचित्र हलमा आएका छन् ।
नेपाली चलचित्र नपाउँदा हिन्दी चलचित्रकै भरमा व्यवसाय गर्नुपर्ने हलहरुले एकै पटक चार चलचित्र पाउँदै आश्चार्य मानिरहेका छन् । नेपाली चलचित्रको वितरणमा कस्तो लापर्र्वाही हुन्छ भन्ने कुरा यो शुक्रबार गरिएको चार वटा चलचित्रको भिडन्तले नै देखाउँछ । कहिले एक महिनासम्म एउटै मात्र चलचित्रले हल पाउनु, कहिले एकै दिन चार–चार वटा चलचित्रलाई भिडाउनुले नेपाली चलचित्रको रिलिजमा कस्तो चलखेल हुन्छ भन्ने कुराको आंकलन गर्न सकिन्छ ।

यो हप्ता एक आपसमा भिड्ने नेपाली चलचित्र हुन्, ‘रोमियो’, ‘मेला’, ‘तान्द्रो’ र ‘सकस’ । चार वटा चलचित्र हलमा लागे पनि चर्चा भने निकै कम भएको छ । यीमध्ये साम्तेन भुटियाको निर्देशन रहेको चलचित्र ‘तान्द्रो’ दश वर्षे सशस्त्र युद्धमा आधारित छ । ‘तान्द्रो’ २०६० सालमा लमजुङमा तत्कालीन शाही नेपाली सेनाको कार्बाहीमा माओवादीको सांस्कृतिक टोलीका प्रमुख गंगाबहादुर लामा (कोशिस) ले भोगेको अनुभवमा आधारित चलचित्र भएको निर्माण पक्षको भनाइ छ ।
गंगाबहादुर लामाले आफूले युद्धकालमा भोगेको अनुभवलाई संस्मरणात्मक पुस्तक ‘स्मृतिका डोबहरुमा’ उतारेका थिए ।

चलचित्रमा दयाहाङ राईले माओवादी लडाकुको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा दयाहाङ राईका अलावा रामबाबु गुरुङ, बुद्धि तामाङ, राजन खतिवडालगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै प्रेमकथामा आधारित चलचित्र ‘रोमियो’ मा तीन जना व्यक्तिमार्फत जीवनप्रतिको दृष्टिकोण प्रस्तुत गर्न खोजिएको छ । शंकर कार्कीले निर्देशन गरेको यस चलचित्रमा मेलिना मानन्धर, निशा अधिकारी, हसन खानलगायतका कलाकारको अभिनय रहेको छ । वसन्त निरौलाको निर्देशन रहेको ‘मेला’ पनि प्रेम कथामा आधारित चलचित्र भए पनि यसमा कमेडीको पनि मिश्रण रहेको छ । कलेज पढ्ने युवा पुस्ताको कथा समेटिएको चलचित्रमा सलोन बस्नेत, अशिष्मा नकर्मी, अमेश भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ ।

यही शुक्रबार नै रिलिज भएको अर्को चलचित्र हो एनबि महर्जनको निर्देशन रहेको ‘सकस’ । सुन्दर श्रेष्ठको निर्माण रहेको ‘सकस’ मा सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल गिरी, विल्सन विक्रम राई, सुष्मा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । केही दिन अगाडि चलचित्रको आइटम गीत ‘शीला गज्जब’ छ सार्वजनिक भएको थियो ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्