केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवन राष्ट्रिय निकुञ्ज भएर चल्ने सवारी शुल्क हटाउने निर्णय कार्यान्वयन

सहयात्रा टिभी

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर चल्ने गाडीबाट असुल गर्दै आएको राजश्व हटाउने मन्त्रिपरिषद्को निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको उक्त निर्णय शुक्रबार बेलुका साढे चार बजेदेखि कार्यान्वयनमा आएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

सरकारको निकुञ्ज विभागको पत्र प्राप्त भएसँगै निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका प्रतिनिधिको उपस्थितिमा राप्ति पुल नजिकै शुल्क हटाइएको घोषणा गरिएको हो । यो समयमा माडीतर्फ जाने गाडीलाई स्वागत गरी बिदाइ गरिएको कँडेलले बताए ।

निकुञ्जले हुलाकी सडक हँुदै माडी जाने सवारीका लागि राप्ति पुल नजिकै, माडी क्षेत्रबाट भरतपुरतर्फ आउनेका लागि वनकट्ठामा र ठोरीतर्फ जाने गाडीका लागि बगइमा राजश्व लिँदै आएको थियो । यो निर्णय कार्यान्वयन अघि भरतपुरबाट निकुञ्ज आवतजावत गर्नका लागि मोटरसाइकल, बयल गाडा र टाँगाको ११ रुपैयाँ ३० पैसा कर तिर्दै आएका थिए भने बस, कार, जिप, ट्र्याक्टर, लरी लगायतका पाँच टनसम्मका सवारीसाधनले रु ५७ कर तिर्ने गरेका थिए । खुला पैसाको अभावमा सवारीसाधनबाट सानाले १५ रुपैयाँ र ठूलाले ६० रुपैयाँ तिर्न बाध्य हुनुपरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको प्रस्ताव र निकुञ्ज विभागको सिफारिशमा मन्त्रिपरिषदबाट यो निर्णय भएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताएका छन् । अर्थ मन्त्रालय र कानून मन्त्रालयको सकारात्मक रायपछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले बताए ।

राजश्वभन्दा ठूलो यस क्षेत्रका जनता हुने भन्दै उनले यो निर्णयसँगै मध्यवर्तीका बासिन्दासँग निकुञ्जको सम्बन्ध अरु सुमधुर हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : 11 November, 2017

प्रतिक्रिया दिनुहोस्