दुई दुर्घटनामा ५ को मृत्यु, ४२ घाइते

सहयात्रा टिभी

काठमाण्डौं । कैलाली र दाङमा भएको दुई छुट्टा–छुट्टै गाडी दुर्घटनामा आइताबार पाँच जनाको ज्यान गएको छ भने ४२ जना घाइते भएका छन् । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा  ३ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । मृतक तीनै जना महिला हुन् ।

प्रहरीका अनुसार,  मृतक ३ जनामध्ये शिवनाथ नगरपालिका, बैतडीकी ६४ वर्षीय भुन्टीदेवी चन्दको मात्रै पहिचान खुलेको छ ।दुर्घटनाका घाइते ३२ मध्ये ५ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, गम्भीर घाइते २ जनालाई थप उपचारका लागि भारतको हलद्वानी लगिएको छ भने बाँकीको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नम्बरको बस सडकबाट करीब ६० मिटर तल खसेर दुर्घटना भएको थियो ।

यस्तै आइतबार नै दाङ देउखुरीको लमही नगरपालिकामा ट्रक र जीप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको ना ४ ख ७५५५ नम्बरको ट्रक र भालुबाङबाट लमही आउँदै गरेको ना १ ज १३४५ नम्बरको जीप लमही नगरपालिका १ नर्तीमा ठोक्किएका हुन् । दुर्घटनामा राप्ती गाउँपालिका ५ निवासी ३६ वर्षीया रामपती चौधरी र घोराही अम्बापुर निवासी २५ वर्षीया गंगा रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते ५ जनाको लमही अस्पतालमा उपचार भैरहेको छ भने ५ जनालाई थप उपचारको लागि बुटवल अस्पताल रिफर गरिएको छ । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्