केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मतदाता शिक्षाका लागि २० हजार कर्मचारी

सहयात्रा टिभी

काठमाण्डौं । निर्वाचन आयोगले मदर मत घटाउने उद्देश्यले आसन्न निर्वाचनका लागि २० हजार मतदाता शिक्षा कर्मचारी खटाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले हरेक मतदान केन्द्रमा एक जना मतदाता शिक्षक रहने शनिबारदेखिनै मतदाता शिक्षा कार्यक्रम शुरु भएको जानकारी दिएका छन् ।

‘कर्मचारीहरु घरघरमै गएर मतदातालाई मतदान शिक्षा प्रदान गर्नेछन्’–प्रवक्ता ढकालले भने–‘उहाँहरूले मतपत्र देखाएर सही ढङ्गले मतदान गर्ने तरिका सिकाउनु हुनेछ ।’ १० मंसिरमा पहिलो चरणको निर्वाचन ३२ जिल्लामा हुँदैछ । जसअनुसार प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा एकसाथ निर्वाचन हुँदै छ । आयोगका प्रवक्ता ढकालले मतपत्र परिवर्तन हुँदा छापिएका करीब ५५ लाख मतदाता शिक्षा सामग्री फेरि छपाउनु परेकाले मतदाता शिक्षा कार्यतालिका प्रभावित भएको बताए ।

‘मतपत्रमा परिवर्तन हुँदा हाम्रो कार्यतालिका प्रभावित भयो’–उनले भने–‘यही कारण हामीले पर्याप्त समय निकालेर यो कार्यक्रम गर्न नसकेको हो ।’ उनका अनुसार पहिलो चरणको निर्वाचनमा १५ दिनसम्म मतदाता शिक्षक परिचालित हुनेछन् भने दोस्रो चरणका लागि २९ दिन परिचालित हुनेछन् ।  दोस्रो चरणमा ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा केन्द्रित रहेर आ–आफ्नो तोकिएको ठाउँमा गएर काम गर्ने प्रवक्ता ढकालले बताए । मंसिरमा हुने निर्वाचनमा देशभरका १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाताले मतदान प्रक्रियामा भाग लिनेछन् । पहिलो चरणको निर्वाचनका लागि ३१ लाख ९१ हजार ९ सय ४५  मतदाता रहेको आयोगले जनाएको छ ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्