पूर्वप्रम विष्टको स्मृतिग्रन्थ प्रकाशन हुने

काठमाडौँ । नइ प्रकाशनले ‘देशभक्त राजनेता : कीतिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशित गर्ने भएको छ ।
प्रकाशनद्वारा आज जारी विज्ञप्ति अनुसार नेपाली राष्ट्रियताका पहरेदार, नैतिकताका प्रखर प्रतीक, अति इमान्दार, अति शालीन, महेन्द्रवादी चिन्तक, देशभक्त राजनेता, पूर्व प्रधानमन्त्री विष्टको स्वर्णिम योगदानको इतिहास नेपाली वाङ्मयमा सुरक्षित राख्ने हेतुले सो ग्रन्थ प्रकाशन गर्न लागिएको हो ।
विष्ट नइ प्रकाशनका संरक्षक तथा दातासमेत हुनुहुन्छ । उहाँको गत शनिवार ९१ बर्षको उमेरमा आफ्नै निवास ज्ञानेश्वर, काठमाडौमा निधन भएको थियो ।
प्रकाशनका अनुसार स्व विष्टका बुबाआमा चन्द्रनिधि विष्ट-धनकुमारी विष्टका स्मृतिमा ‘नइ चन्द्रधन पुरस्कार’ र विष्टकै सम्मानमा ‘नइ कीर्तिनिधि पुरस्कार’ नइ प्रकाशनले हरेक वर्ष प्रदान गर्दै आएको छ । यी दुवै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।
स्व. कीर्तिनिधि विष्टसँगको संस्मरण, उहाँको देशभक्तिको गाथा र उहाँको राजनीतिक निष्ठा, उचाइ र योगदानबारे लेखक, राजनीतिकर्मी, चिन्तक र बुद्धिजीवीसँग लेख उपलब्ध गराउन पनि नइ प्रकाशनले अपिल गरेको छ । रासस