केपी ओली प्रचण्ड माधव नेपाल एमाले


परीक्षण प्रशारणमा पुवाखोला–१

सहयात्रा टिभी

इलाम । इलाममा निर्माणाधीन पुवाखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन गरिएको छ । इलाम नगरपालिकाको तोरीबारी  र देउमाई नगरको  शान्तिडाँडाबीच पर्ने पुवाखोला–१ को विद्युत उत्पादन क्षमता ४ मेगावाट छ ।

आयोजनाले परीक्षणका रूपमा असोज ६ गतेदेखि नै नियमित विद्युत उत्पादन गरिरहेको आयोजनाका प्लान्ट म्यानेजर रमाकान्त देवले जानकारी दिएका छन् । तर, आयोजना निर्माणमा देखिएको प्राविधिक त्रुटिका कारण अहिले २ दशमलव २ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको उनले बताए । आयोजनाका दुई टर्वाइनमध्ये एउटा मात्र सञ्चालनमा रहेको र अर्को युनिटमा समस्या रहेको देवले बताएका छन् ।

एउटा टर्वाइनको म्याग्नेटिक क्वाइल बिग्रेको उनले जानकारी दिए । साथै परीक्षणका क्रममा ४० मिटर पाइप लाइन समेत कुच्चिएर फेर्नु परेको छ । पानी नगएर इन्टेकबाट हावा छिरेपछि पाइप लाइन बिगे्रको जनाइएको छ । बालनगाउँ बेसीस्थित विद्युत गृहबाट उत्पादित विद्युत काबेली कोरिडोर अन्तर्गतको गोदक सब–टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । सो आयोजनाको लागत ७२ करोड रहेको आयोजनाले जानकारी दिएको छ । आयोजनाको ९७ प्रतिशत काम सकिएको प्रोजेक्ट म्यानेजर उत्तम थापाले जानकारी दिएका छन् । रन अफ दि रिभर आयोजना भएकाले हिउँद याममा विद्युत उत्पादन करीब आधा मात्र हुने जनाइएको छ । पुवाखोलाको पानीलाई शान्तिडाँडा बेंस इन्टेक बनाई पाइप लाइनबाट विद्युत गृहसम्म पु¥याइएको छ ।

१ सय ८ मिटर हेड रहेको पेनस्टक पाइपबाट विद्युत उत्पादन गरिएको छ । विद्युत पावर हाउसदेखि उत्पादित विद्युतलाई गोदकको सब–स्टेशनसम्म ल्याएर राष्ट्रिय प्रशारणमा जोड्न साढे ६ किलोमिटर प्रशारण लाइन समेत निर्माण भइसकेकोे छ । २०७३ पुसमा नै पूरा हुनु पर्ने आयोजना जग्गा विवाद र प्रशारण लाइन निर्माणमा भएको ढिलाइका कारण गएको असोजमा मात्र पूरा भएको हो । यो आयोजना निर्माणसँगै इलाममा विद्युत उत्पादन गरिरहेका आयोजनाको संख्या आठ पुगेको छ । इलामबाट हाल ७५ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडिएको छ । यसअघि विद्युत प्राधिकरण अन्तर्गत एक, सानिमा माई हाइड्रोअन्तर्गत दुई, अपरमाईअन्तर्गत दुई,  हिमाल दोलखाबाट एक, जोशी हाइड्रोको एक आयोजना निर्माण भइसकेका छन् ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्