केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेहतालाई फेरि महाप्रबन्धक बनाउन चलखेल

सहयात्रा टिभी

काठमाण्डौं । आर्थिक अनियमितताको आरोप लागेका सत्यनारायण मेहतालाई फेरि पूर्ण सरकारी स्वामित्वको नेशनल ट्रेडिङ कम्पनी लिमिटेडको महाप्रबन्धक बनाउन चलखेल थालिएको छ ।

यसअघि नेशनल ट्रेडिङकै महाप्रबन्धक रहँदा करोडौं अनियमितता गरेको आरोप मेहतालाई लागेको छ । राष्ट्रिय सतर्कता केन्द्रले हदैसम्मको कार्वाही सिफारिस गरेपछि मेहता महाप्रबन्धकबाट कर्मचारीमा सीमित हुँदै गएको साउनमा स्वेच्छिक अवकाश लिएका थिए । तर अहिले तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले विना विभागीय बन्नुअघि नै विवादास्पद छविका मेहतालाई पुनः महाप्रबन्धक बनाउन सिफारिस गरेको पाइएको छ ।

मेहताले २९ असोजमा आफूलाई महाप्रबन्धक बनाउन निवेदन दिएका थिए । ‘आफूलाई महाप्रबन्धक बनाउन मेहताले दिएको ठाडो निवेदनमा मन्त्री मण्डलले तोक लगाएका छन्’–मन्त्रालय स्रोतले भन्यो । सरकारले मेहतालाई २२ असोज ०७२ मा नेशनल ट्रेडिङको महाप्रबन्धक बनाएको थियो । आफूलाई तीन वर्षका लागि नियुक्त गरे पनि पूरा कार्यकाल काम गर्न नपाएकाले पुनः जिम्मेवारी पाउनुपर्ने उनले दाबी गरेका छन् । सार्वजनिक पदमा रहेर अनियमित गतिविधि गरेको बताउँदै मंसिर ०७३ मा आपूर्ति मन्त्रालयले मेहतालाई स्वेच्छिक अवकाशको विकल्प दिएको थियो ।

मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महाप्रबन्धकको जिम्मेवारी उपसचिव लवराज जोशीलाई दियो, जुन अहिले पनि कायमै छ । अहिले विना विभागीय रहेका मण्डलले पनि आपूर्तिमन्त्री हुँदा मेहतालाई महाप्रबन्धक बनाउन सिफारिस गरेको स्वीकार गरेका छन् । तर, मेहतालाई महाप्रबन्धक बनाउन सिफारिस गरेको भोलिपल्टै मण्डलसँगै माओवादी मन्त्रीहरु विना विभागीय बनेका हुन् । मेहतामाथि संस्थानको जग्गा भाडामा लगाउँदा करीब एक करोड रुपैयाँ अनियमितता गरेको आरोप छ । राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा मेहताले संस्थानको नाममा रहेका विभिन्न स्थानका जग्गा गैरकानूनी रुपमा भाडामा लगाएर अनियमितता गरेको उल्लेख छ । मेहताले नेशनल ट्रेडिङको रामशाहपथस्थित २५ रोपनी खाली जग्गा ड्राइभिङ इन्स्टिच्युटलाई भाडामा लगाउँदा कीर्ते गरी लाखौं रुपैयाँ अनुचित लाभ लिएको आरोप छ ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्