इरान–इराक भूकम्प : मृत्यु हुनेको संख्या ४ सय नाघ्यो, उक्त भूकम्प यस वर्ष विश्वमै गएको सबैभन्दा ठूलो भूकम्प

सहयात्रा टिभी

इरान र इराकको उत्तरी सीमा क्षेत्रमा एक दशकयताकै विध्वंसकारी भूकम्प ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जांदा इरानमा हजारौं मानिसहरु प्रभावित भएका छन् ।

सो भुकम्पमा परि ज्यान गुमाउनेको संख्या ४ सय नाघेको छ भने सात हजार भन्दा बढी घाइते भएका छन् । यो भूकम्प विश्वमा सन् २०१७ मा गएको अहिलेसम्मकै सबैभन्दा विनाशाकारी बनेको छ ।

भूकम्पका कारण ज्यान गुमाउनेमा अधिकांश इरानको पश्चिमी क्षेत्रका छन् । इरानमा मात्रै कम्तिमा चार सय १३ जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । इराकमा कम्तिमा ९ जनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ ।
उद्धारकर्मीहरुले सबैभन्दा नराम्ररी प्रभावित इरानको पहाडी प्रान्त केर्मान्शाहमा घरका भग्नावशेषमा पुरिएका दर्जनौं मानिसहरुको खोजी रातिको समयमा पनि जारी राखेका छन्।

इरानमा भूकम्पका कारण ७० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । अहिले उद्धार तथा भत्किएका भवनमा पुरिएका मानिसको जीवितै उद्धारका लागि प्रयास भइरहेको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । यसअघि सन् २००३ मा इरानमा गएको ६.६ रेक्टरको भूकम्पका कारण २६ हजार मानिसको ज्यान गएको थियो । इरानी सेनाका कमाण्डर-इन-चिफले सरकारी समाचार च्यानल आइआरआइएनएनलाई बताए अनुसार भूकम्पमा परी ज्यान गुमाउनेहरुमा केही सैनिक र सीमारक्षक पनि रहेका छन्।

राष्ट्रिय शोक

इरानी सरकारले मंगलवार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानमा गएको आइतवारको भूकम्प यो वर्ष विश्वमै गएको सबैभन्दा विनाशकारी भूकम्प हो।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्