केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुरानै प्रणालीमा ट्राफिक लाइट, बिग्रेका लाइट मर्मत गरिंदै

सहयात्रा टिभी

काठमाण्डौं । चुनावको मुखमा काठमाण्डौंका विभिन्न स्थानका ट्राफिक लाइट व्यवस्थापन र प्रविधि स्तरोन्नति गरिने चर्चा चले पनि सो अनुसार काम अघि बढ्न सकेको छैन ।

एसियाली विकास बैंक (एडीबी) को आर्थिक तथा प्राविधिक सहयोगमा उपत्यकाभित्र जडान हुने भनिएको ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ को योजना असफल भएको छ । त्यसका लागि एडीबीले सरकारलाई दिएको ३३ करोड रुपैयाँ पनि ‘फ्रिज’ भएको छ । काठमाडौं दिगो शहरी यातायात आयोजना (केएसयूपीटी) ले पूर्व योजना अनुरुप ट्राफिक लाइट जडान नगर्ने गरी उक्त सिस्टमका सबै कार्यक्रम खारेज गरेको हो ।

तीन पटक टेण्डर गर्दा पनि ‘ओभर बिड’ अर्थात् लागत अनुमान नाघेर प्रस्ताव आएकाले कार्यक्रम स्थगित गरिएको आयोजनाले जनाएको छ । एडीबीको ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋण सहयोगमा उक्त सिस्टम जडान गर्ने योजना थियो । एडीबीसँगको नयाँ योजना असफल भएपछि अब काठमाण्डौंमा पुरानै प्रणाली र बिग्रेका लाइट मर्मत गरी जडान गर्ने तयारी भइरहेको छ । विगतमा सडक विभाग आफैले काम नलाग्ने भनेर घोषणा गरेका लाइट नै काठमाडौं महानगर, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले जडान गर्ने निचोडमा पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि सडक विभागलाई तत्काल लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । सोही निर्देशनअनुसार विभागले मर्मतका लागि अध्ययन गर्न लागेको छ । लाइट मर्मतका लागि आवश्यक सहयोग गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । सडकमा अलपत्र बनेका ट्राफिक लाइट ०६५ सालमा जापानी सहयोग नियोग जाइकाले जडान गरिदिएको थियो ।

उपत्यकाका २० भन्दा बढी स्थानका ट्राफिक बत्ती बिग्रिएका छन् । तीमध्ये अधिकांश बनाउनै नसकिने अवस्थामा रहेको बताउँदै सडक विभागले मर्मतमा चासो दिएको थिएन । केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकहरुमा ट्राफिक लाइट अलपत्र छन् । त्यतिबेला कतिपय स्थानमा यात्रुले बाटो काट्ने प्रयोजनका लागि मात्रै पनि लाइट राखिएका थिए । ती पनि काम नलाग्ने बनाएर राखिएको वर्षौं बितिसकेको छ ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्