नौ उच्च अधिकारीको सम्पति छानविन गर्दै अख्तियार

सहयात्रा टिभी

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न क्षेत्रका नौं जना उच्च अधिकारीको सम्पति छानविन थालेको छ । अख्तियारका अनुसार छानविनमा पर्नेमा नेपाल विद्युत प्राधिकरणका दुई उच्च अधिकारी छन् ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल र ११ औं तहका निर्देशक दामोदरभक्त श्रेष्ठमाथि सम्पति छानविन थालिएको हो । श्रेष्ठ चिलिमे जलविद्युत आयोजनाका प्रमुख पनि हुन् ।  त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय पनि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा छानविनको सूचीमा परेका छन् । यस्तै कृषि सामग्री कम्पनी लिमिटेडका ११ औं तहका अधिकृत अच्युत पौडेल, सडक विभागका उपसचिवस्तरका दुई इन्जिनियर (सीडीई) दण्डपाणि पौडेल र ज्ञानेन्द्रकुमार झा समेत गैरकानुनी सम्पत्ति आर्जनको छानविनमा परेका छन् । 

राजश्व समूहका चार अधिकृतको सम्पत्ति पनि छानविन भइरहेको अख्तियार स्रोतले बताएको छ । राजश्व अनुसन्धान विभागका झविन्द्र पोख्रेल र शिवचन्द्र पन्त तथा आन्तरिक राजश्व विभागका अधिकृत रमेश भट्टराईको पनि सम्पति छानविन शुरु भएको अख्तियारले जनाएको छ ।  यसअघि नै पत्र बुझ्न नमानेको भन्दै अख्तियारले आन्तरिक राजश्व विभागका महानिर्देशक चूँडामणि शर्माको घरमा ७ दिने म्याद टाँसिसकेको जनाएको छ ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्