केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन जित्दै महिला सहकारी

सहयात्रा टिभी

इलाम । महिलाहरुले घरभित्रका बाहेक अरु सामाजिक काम गर्न हुँदैन भन्ने गलत धारणा कतिपय समाजमा अहिले पनि छ ।  यस्तै सोचाइले धेरै महिलाहरु अहिले पनि घरभन्दा बाहिर निस्कन सकेका छैनन ।

तर, यो धारणालाई चिर्दै सामाजिक काममा महिलाको एकता र जागरुकता भयो भने महिला मात्र सफल बन्दैनन् गाउँघर समेत परिवर्तन हुन्छ भन्ने उदारहण इलाम फिक्कलका महिलाले देखाएका छन् । स्थानीय केन्द्रकुमारी गौतम, सकुन्तला सुवेदी, मुक्तादेवी सुवेदी, अमृता राई, सावित्रा सुवेदीलगायतको सक्रियतामा गाउँभरका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित गठन गरिएको महिला सिर्जना वहुउद्देश्यीय सहकारी संस्था महिलाहरुको सफलताको माध्यम बनेको छ । महिलाहरुले आफूमा भएको जाँगर, सीप र अवधारणालाई यसै संस्थाका माध्यमबाट प्रस्तुत गरेर जिल्लाकै उदाहरणीय बन्न सफल भएका छन् ।

२०५७ साल चैत २६ गते स्थानीय महिलाहरुले पिछडिएका महिलाहरुलाई सहकारीका माध्यमबाट उकास्ने उद्देश्यसहित गठन गरेको संस्थामा अहिले गाउँका सवै वडाका महिला सहभागी छन् । स्थापनाका बेला २७ सदस्य रहेको सहकारीमा अहिले शेयर धनीको संख्या पाँच सय २५ पुगेको छ । स्थापनाको छोटो समयमै एक करोड रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको सहकारीले ६३ लाख रुपैयाँ लगानी गरेको छ । सहकारीले तीन सय ६० सदस्यलाई वायोग्याँस प्लान्ट जडान, आलु र अदुवा खेतीमा लगानी गरेको अध्यक्ष अमृता राईले बताइन् ।

यसमा पनि सय वटा भने वायोग्याँस प्लान्ट नै छन् ।  उनले भनिन्–‘लगानी गरिएको रकम नियमित उठ्ने र बचत पनि नियमित हुने गरेकाले संस्था अहिले फाइदामा छ ।’ उनले स्थापना भएयता वार्षिक न्यूनतम् दुई लाख रुपैयाँ संस्थालाई नाफा भइरहेको पनि जानकारी दिइन् । संस्थाले प्रति सदस्यलाई पाँच हजारदेखि २० हजार रुपैयाँसम्म ऋण दिने गरेको छ । बचतमा आठ प्रतिशत र ऋणमा १४ प्रतिशत व्याजको कारोबार हुने गरेको संस्थाले जनाएको छ । संस्थामा अहिले कूल पूँजी ९० लाख हाराहारी रहेको उनले जानकारी गराइन् । संस्थाले आफ्नै आम्दानीबाट १३ लाख रुपैयाँमा भवन पनि निर्माण गरिसकेको छ । संस्थाले माग अनुसार ऋण दिन नसकेको भए पनि महिलाको सानोतिनो समस्या पर्दा र व्यवसाय गर्न चाहनेहरुलाई सहयोग गरिरहेको उनी बताउँछिन् । अध्यक्ष राईले महिलाहरुले सहकारीलाई घरको काम भ्याएर पनि सहयोग गरिरहेकाले सफलता पाएको बताइन् । उनी थप्छिन्–‘हामी नाफामुखी भन्दा पनि अब सेवामुखी भएर काम गर्न उत्सुक छौं ।’ संस्थाले प्रत्येक वर्ष उत्कृष्ट ऋण कारोबार गर्ने बचतकर्ता र नारी दिवसमा वृद्धवृद्धालाई सम्मान पनि गर्दै आएको छ । संस्थाले गाउँपालिका र अन्य संघसंस्थाहरुको सहकार्यमा विकास निर्माणका काममा पनि लगानी गरेको छ ।

आपसमा सद्भाव र एकता जगाउन सहकारीका महिलाहरुले एउटै किसिमको पोसाक लगाउने गरेका छन् । अध्यक्ष राईले स्थानीय कृष्ण सुवेदी, सनत पराजुली, देवी गौतम, अशोककुमार शर्मा, अर्जुनकुमार सुवेदी र रत्न राईलगायतले संस्थाको हितमा उल्लेखनीय सहयोग गरेको पनि सुनाइन् । राईले भनिन्–‘पुरुष र महिला दुबैको सफलतामा दुबै पक्षको सहयोग अनिवार्य हुँदोरहेछ । पुरुषहरुले पनि हामीलाई धेरै काममा सहयोग गर्नुभएको छ । यो महिलाको मात्रै होइन पुरुषहरुको पनि सफलता हो ।’ डिभिजन सहकारी कार्यालयले जिल्लाको उत्कृष्ट सहकारीका रुपमा यो सहकारीलाई सम्मान गरिसकेको छ । यो सहकारी र अरुमा आकाश–जमिन जस्तै अन्तर रहेको सहकारी कार्यालयको ठहर छ । लगानी, बचत र सामाजिक काममा पनि क्रियाशील महिलाहरुको यो संस्था अहिलेसम्म सबै पक्षमा राम्रो देखिएको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।’ थोरै समयमा यसले ठूलो सफलता हासिल गरेको कार्यालयको निक्र्यौल छ ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्