केपी ओली प्रचण्ड माधव नेपाल एमाले


व्यासबासीले खलङ्गामै भोट हाल्ने, व्यासका दुबै मतदान केन्द्र खलङ्गा सारिंदै

सहयात्रा टिभी

दार्चुला । दार्चुलाको उत्तरी गाउँ व्यासका नागरिक मताधिकारबाट बञ्चित बन्नु पर्ने अवस्था सिर्जना भएको समाचार सञ्चार माध्यममा आएपछि उनीहरुको समस्या सम्बोधन भएको छ ।

जाडोका कारण व्यासको मतदान केन्द्र सर्वसाधरणलाई असुरक्षित भएको गुनासो आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्याँसका दुवै मतदान केन्द्र खलङ्गामा सार्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो । केन्द्रीय अनुगमन प्रतिनिधिसहितको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले व्याँसका दुवै मतदान केन्द्रलाई जिल्ला सदरमुकाम खलङ्गामा सार्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मंसिर शुरुदेखि नै व्यासीहरु समुदाय खलङ्गा झर्न शुरु गर्दछन् । ६ महिना व्यास र ६ महिना सदरमुकाम खलङ्गामा बस्ने यो समुदायका लागि व्यासमा दुई मतदान केन्द्र तोकिएका छन् । सबै व्यासी समुदाय मतदानको दिनसम्म खलङ्गा झर्ने तथा खलङ्गामा यो पटक अस्थायी मतदान केन्द्र नतोकिएकाले उनीहरु मतदानबाट वञ्चित हुने अवस्था थियो । ‘सबै मतदाता खलङ्गा झर्ने तथा खलङ्गामा मतदान केन्द्र नहुने अवस्थाले मतदाता मतदानबाट बञ्चित हुने अवस्था आएकाले यहाँको अवस्था जानकारी गराउँदै हामीले आयोगमा पत्र पठाएका छौं । जिल्लाको वस्तुस्थिति बुझेर आयोगले सकारात्मक कदम लिनेछ’– मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले भने ।

व्यासमा हिमपात शुरु भएको छ । हिमपात शुरु भएकाले टिङ्करमा रहेको सीमा प्रहरी चौकी पनि तल झरेको छ’–जिल्ला प्रहरी कार्यालय प्रमुख जनकबहादुर शाहीले भने । हिमपात भएपछि व्यास मानवशून्य बस्तीमा परिणत हुन्छ । ‘सबै गाउँलेहरु पैसा उठाएर पाले राख्छन् र घर छोडी सदरमुकाम खलङ्गा आउँछन्’–नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति ललितसिंह बोहराले भने । निर्वाचन आयोगले खलङ्गामा अस्थायी मतदान केन्द्र राख्ने निर्णय कार्यान्वय भएपछि ५४१ मतदाताले मताधिकार प्रयोग गर्न समस्या झेल्नु पर्ने छैन ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्