नेपालले ८ विकेटले मलेशियालाई हरायो

सहयात्रा टिभी

काठमाडौं । एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले घरेलु टोली मलेशियालाई ८ विकेटले हराएको छ । मलेशियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा पूरा गरेको छ ।

ओपनर आशिफ शेख ४ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका कप्तान दिपेन्द्र सिंह ऐरीले लगातार २ छक्का प्रहार गरी आउट भए । अर्का ओपनर अनिल साहले २६ र चौथो नम्बरमा आएका भीम साार्कीले अविजित ३ रन प्रहार गरी नेपाललाई ८ विकेटको जीत दिलाए । साहले छक्का प्रहार गरी नेपालाई जीत दिलाएका हुन् ।बलिङतर्फ मलेशियाका विजय उन्नीले २ विकेट लिएका थिए । घरेलु टोली मलेशियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २–२ तथा अनिलकुमार साहले १ विकेट लिए ।

यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेशियाले १५.३ ओभरमा सबै विकेट गुमाएर ४५ रन बनाएको थियो ।वर्षाका कारण डकवर्थ लेविस नियम अनुसार २४ ओभरमा झारिएको खेलमा नेपालको सशक्त बलिङसामु मलेशिया कमजोर देखिएको थियो । छैटौं ओभरको चौथो बलमा जगजीतलाई अनिल साहले जितेन्द्र सिंहको हातबाट क्याचआउट गराएपछि सुरु भएको मलेसियाको विकेट पतन त्यसयता निरन्तर रह्यो ।५.४ ओभरमा ३३ रन बनाएको मलेशियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो ।

शुरुदेखि नै आक्रामक बलिङ गरेको नेपालले मलेशियाका कुनै पनि ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएन । ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनु बाहेक मलेशियाका अन्य ब्याट्सम्यानले धारिलो बलिङको सामना गर्नै सकेनन् । यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जीत निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न आजको खेल जित्नै पर्ने अवस्थामा थियो । समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्