तलव नपाएका शिक्षकद्धारा रौतहटका सामुदायिक विद्यालय बन्द

सहयात्रा टिभी

काठमाण्डौ । लामो समयदेखि आफूहरुलाई तलव नखुवाएको भन्दै आन्दोलनमा उत्रिएका रौतहटका शिक्षकले जिल्लाका सबै सामुदायिक विद्यालय ठप्प बनाएका छन् ।

तलव नपाएपछि आन्दोलनमा उत्रिएका शिक्षकहरुले पढाइ ठप्प पारेपछि मंगलबार रौतहटका सबै सामुदायिक विद्यालयहरु बन्द भएका छन् । यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकहरुले विगत चार महिनादेखि तलब नपाएको गुनासो गरिरहेका छन् । तलब निकासा गर्न गाउँपालिका तथा नगरपालिकालाई आग्रह गर्दा समेत दशैं र तिहारका बेला समेत आफूहरुले तलब नपाएको गुनासो शिक्षकहरुको छ ।

नयाँ आर्थिक वर्षसँगै स्थानीय तहले नै आफ्नो क्षेत्रमा सञ्चालनमा रहेका विद्यालयको शिक्षकलाई तलब खुवाउनु पर्ने व्यवस्था भएपछि यी दुवै स्थानीय तहका शिक्षकहरुले तलब पाएका छैनन् ।आफूहरुले काम गरेको तलब निकासा गराई दिन पटक–पटक प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्दा पनि कुनै सुनवाई नभएपछि पढाउन छोडेर जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्नु परेको उनीहरुले बताएका छन् । बाटो अवरुद्ध गरेर धर्ना दिइरहेका शिक्षकहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेपछि विवाद बढेको थियो ।

काम गरेको तलब माग्दा र शान्तिपूर्ण धर्ना दिंदा प्रहरीले दुव्र्यवहार गर्दै नियन्त्रणमा लिएको भन्दै नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठनलगायत विभिन्न पेशागत शिक्षक संगठनहरुले मंगलबारबाट जिल्लाभरीका सामुदायिक विद्यालय बन्द गराएको शिक्षक संगठनका मणिशंकर निधिले बताएका छन् । तलब निकासा नभएसम्म विद्यालयहरु अनिश्चितकालका लागि बन्द गराएको उनले बताए ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्