रुपन्देहीका अधिकांश किसानमा मृगौलाको समस्या

सहयात्रा टिभी

रुपन्देहीका अधिकांश किसानमा मृगौलाको समस्या पाइएको छ । शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने गरेका कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गाैलाको समस्या देखिएको अध्ययनले देखाएको छ ।

खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाका माध्यमबाट बाहिरिने हुँदा पानीको मात्रा कम भएर मिर्गाैलामा संक्रमण देखिएको हो ।  स्वास्थ्य मन्त्रालय र नेपाल किड्नी फाउण्डेशन काठमाण्डौको आयोजना तथा ब्रिज अफ लाइफ अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गाैला परीक्षण शिविरमा झण्डै १८ प्रतिशत व्यक्तिका मिर्गाैलामा समस्या देखिएको फाउण्डेशनका अध्यक्ष डा. शक्ति बस्नेतले जानकारी दिए ।

खासगरी किसान केन्द्रित सो शिविरमा लक्षित वर्गमा मुख्यतया जनचेतनाको मुख्य समस्या रहेको उनले बताए । जनचेतनाको अभावमा अधिकांश ५० वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिका मिर्गाैलामा समस्या देखिएको छ । ‘ग्रामीण क्षेत्रका सर्वसाधारणमा मिर्गाैला स्वस्थ राख्नुपर्ने विषयमा जनचेतनाको अभावसँगै मानिसको दैनिक खानपिन र बानी व्यवहारमा सुधार नहुनु र अनावश्यक तनाव जस्ता कारणले उच्च रक्तचाप र मधुमेहको समस्या धेरैमा देखिएको छ’–डा. बस्नेतले भने । रुपन्देहीको बुटवल उपमहानगरपालिका– १३ र १४ को नयाँ गाउँमा दुई दिन र तिलोत्तमा नगरपालिकाको कोटिहवामा दुई दिन शिविर सञ्चालन गरिएको थियो ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्