केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाँचथरमा मतदानस्थल साँघुरो, इलाममा सुरक्षा व्यवस्था कडा

सहयात्रा टिभी

इलाम–पाँचथर । दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी इलाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेलको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु संलग्न निर्वाचन सुरक्षा कमाण्ड गठन गरी जिल्लाको शान्ति सुरक्षा मजबुत बनाइएको छ । यता पाँचथरमा निर्धारण गरिएका अधिकांश मतदानस्थल साँघुरो रहेको गुनासो आएको छ ।

मतदानस्थलहरु साँघुरो भएका कारण मत हाल्न मतदातालाई समय बढी लाग्ने भएकाले बेलुका ५ बजेसम्म मतदान गर्न भ्याउन पनि मुस्किल पर्ने देखिएको जिल्ला निर्वाचन अधिकारी धु्रवकुमार राईले बताए । राईका अनुसार एउटै मतदान स्थलमा तीन–चार वटासम्म मतदान केन्द्र निर्धारण गरिएकाले ठाउँ साँघुरो हुँदा मतदानमा ढिलाई हुने देखिएको हो । अधिकांश मतदानस्थल विद्यालयको खेल मैदानमा तोकिएको छ ।

त्यस्ता स्थानमा पनि नयाँ भवन निर्माण भइरहेकाले ठाउँ साँघुरो भएकाले मतदान गर्न धेरै समय लाग्ने देखिएको जिल्ला निर्वाचन अधिकारी राईले बताए । पाँचथरमा निर्वाचन गराउन १ हजार ४ सय कर्मचारी खटिनेछन् । १६५ मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ गरि ४ सय ९८ वटा मतपेटिका राखिनेछन् । मतदानपछि भेला गरिएका मतपेटिका ४ स्थानमा राख्ने तयारी भएको छ । पाँचथरमा १ लाख २५ हजार २१९ जना मतदाता छन् ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्