सिरहामा सल्टियो माओवादीको समस्या

सहयात्रा टिभी

सिरहा । दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका लागि सिरहा जिल्ला सकसपूर्ण थियो । तर सिरहामा माओवादीले व्यहोरेको पूरानो समस्या सल्टेको छ । सिरहाको तत्कालीन क्षेत्र नम्बर–५ मा प्रचण्डसँग पराजित भएपछि धाँधली गर्दै हराइएको भन्दै अदालतसम्म पुगेका लिलानाथ श्रेष्ठको साथ अहिले माओवादी केन्द्रलाई छ ।

देशभर चुनावी तालेमल गरेका एमाले र माओवादी केन्द्रबाट सिरहा–३ मा साझा उम्मेद्वार बनेका छन् अहिले एमाले नेता श्रेष्ठ । उनीसँगै कांग्रेसका अमर रेग्मी र मधेसी गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमका अशेश्वर यादवसहित १३ उम्मेद्वार चुनावी टक्करमा छन् । तर, मुख्य प्रतिष्पर्धा श्रेष्ठ र यादवबीच स्थानीय बताउँछन् । स्थानीय चुनावको मतका आधारमा जिल्लामा माओवादी पहिलो दल छ, तर यो क्षेत्रमा एमाले नै बलियो छ । मेयर र अध्यक्षमा पाएको मतका आधारमा कांग्रेसको १४ हजार, फोरमको १८ हजार मत छ भने एमालेको २० हजार मत छ । माओवादीको मत १२ हजार छ र लिलानाथका लागि यो मत निर्णायक हुने देखिएको छ ।

एमाले उम्मेद्वार श्रेष्ठ पनि आफूलाई जिताउन माओवादीको भूमिका निर्णायक हुने मान्छन् । उनले भने–‘राजनीतिमा विगतमा के भयो भने हुँदैन, अहिलेसम्म माओवादी साथीहरुको सपोर्ट ठीकै छ ।’ माओवादी नेता विश्वनाथ साह पनि श्रेष्ठलाई माओवादीको पूर्ण सहयोग रहेको बताउँछन् । ‘पूरानो इतिहास भइसक्यो, हामी गठबन्धनलाई जिताउन लागेका छौं’ उनले भने । ०५४ सालमा जिविस उपसभापति बनेका श्रेष्ठ आफ्नै घर आँगनमा बसेर राजनीति गरेकाले मधेसी समुदायको बलियो बिश्वास आफूमाथि रहेको बताउँछन् ।

आफू आन्दोलनबाट आएकाले आफूले मत पाउनेमा ढुक्क छन् फोरमका उम्मेद्वार अशेश्वर यादव । उनी भन्छन्– ‘हामी अझै पनि आन्दोलनमै छौं, यो चुनावलाई पनि आन्दोलनकै रुपमा लिएका छौं । त्यसैले मधेसी जनताले मत हाल्ने निश्चित छ ।’ कांग्रेस उम्मेद्वार रेग्मी आफू कांग्रेसको इमानदार कार्यकर्ता भएकाले मत दिने बताउँछन् । २०१५ सालको आम चुनावमा उनका बुबा माधवप्रसाद रेग्मी सांसद चुनिएका थिए । रेग्मीका बुवा आमाले सिराहा कांग्रेसको नेतृत्वमा बसेका काम गरे ।

प्रकाशित : 1 December, 2017

प्रतिक्रिया दिनुहोस्