मोरङमा मोदी र महेशको टक्कर
मोरङ । अहिले अन्य जिल्ला जतै मोरङमा पनि चुनावी राप बढ्दो छ । मोरङको अन्य निर्वाचन क्षेत्रको जस्तै ४ नम्बर क्षेत्र पनि चर्चामा छ । मोरङ–४ का वाम गठबन्धनका तर्फबाट उम्मेद्वार माओवादी केन्द्रका नेता अमनलाल मोदीका कारण यो क्षेत्रको चर्चा निकै चलिरहेको छ ।
अहिले उनका कार्यकर्ता र शुभचिन्तक नेपाली मोदीलाई जिताउन लागिपरेका छन् । जानुकागाँछी–१४ मियाँटोलका ३७ वर्षीया मोहम्मद अफुज आलमले घर घरमा मोदीको चर्चा रहेको बताए । आलमले मात्र होइन, अमनलाल मोदीले पनि आफू गरीबको छोरा विभेद र पीडा के हो । सबै बुझेको हुनाले काम गर्न सजिलो भएको बताउँदै शहरको भन्दा ग्रामीण क्षेत्रका जनताले आफूलाई मत दिने विश्वास गरे ।
उम्मेद्वार मोदीले भने–‘मेरा बुबा सानैमा बित्नुभयो, आमाले अर्काको घरमा भाँडा माझेर मलाई हुर्काउनु भयो आज त्यही वर्गका मान्छेले मलाई मेरो काम हेरेर मत हाल्ने छन् ।’ विद्यार्थी उमेरमै माओवादीको भूमिगत राजनीतिमा लागेका मोदी संविधान निर्माणको क्रममा संविधानसभामा खेलेको भूमिकाका कारण परचित अनुहार बनेको छ । पहिलो संविधानसभा समानुपातिकबाट सभासद् बनेका थिए । संविधानसभा बैठकमा तोडफोड र संविधानसभा हलका ‘कुर्सी भाँच्ने काण्ड’को अगुवा बनेको चर्चा पनि उनको क्षेत्रमा सुनिन्छ । थारू बहुल क्षेत्रबाट जातिगत मत प्राप्त गरेर आचार्यलाई टक्कर दिने रणनीतिमा रहेका उनी भन्छन्– ‘वाम पार्टीबीच भएको गठबन्धन र थारू समुदायबाट प्राप्त हुने सहयोग नै मेरो जितका आधार हुन् ।’ यता वाम गठबन्धनका कारण दबाबमा रहेका महेश आचार्यले पनि गठबन्धनसँग प्रतिष्पर्धा रहेको बताए । उनले भने– ‘गठबन्धनको दबाब छ तर मैत्रीपूर्ण ।’
गिरिजाप्रसाद कोइरालाको सहयोगमा कांग्र्रेस राजनीतिमा उदाएका महेश आचार्य चौथो पटक सो क्षेत्रबाट चुनावमा उठेका हुन् । शुरुमा महेश आचार्यलाई कांग्रेसमा धेरैले रुचाएका थिएनन् । तर कोइराला परिवारको नाममा पछिल्लो समय पार्टीमा आफ्नो पकड बनाउन सफल भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य पञ्चायती कालदेखि नै राजनीतिमा लागेका हुन् । बीपी कोइराला परिवारका भान्जा भएकाले उनलाई बाल्यकालदेखि नै कांग्र्रेसको राजनीतिले आकर्षित गरेको थियो । बीपी कोइराला, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूसँगै उनी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सरिक भएका उनी २०४६ साल र २०६२÷०६३ को आन्दोलनमा पनि उनको सक्रिय सहभागिता थियो ।
नेपाल विद्यार्थी संघको विभिन्न कमिटी हुँदै कांग्र्रेसको विभिन्न एकाइ तथा सङ्गठनमा बसेर काम गरेका उनी अर्थमन्त्री, वन मन्त्री र कृषि मन्त्री भइसकेका हुन् । २०७० सालको चुनावमा मोरङ क्षेत्र नं. ६ बाट १२ हजार ५५२ मत ल्याएर उनी विजयी भएका हुन् ।
स्थानीय चुनावको अंक गणितमाथि पनि उम्मेद्वारको नजर छ । मोरङ क्षेत्र नं. ४ मा ९९ हजार १ सय २४ मतदाता छन् । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी, नेपाली कांग्र्रेसका महेश आर्चाय र संघीय समाजवादी फोरमका तर्फबाट लोक सागर साँवा चुनावी प्रतिष्पर्धामा छन् ।