केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टीकापुरमा दुई महिलाको शालीन भिडन्त

सहयात्रा टिभी

कैलाली । चुनाव नजिकिएसँग ठूला दलका ठूला उम्मेद्वार र नेतासम्म सार्वजनिक रुपमा नै एकले अर्को उम्मेद्वारको कद सानो देखाउने भाषण ठोकिरहेका छन् । तर, कैलालीको टीकापुरमा भने उम्मेद्वारहरु शालिन चुनाव प्रचार अभियानमा छन् ।

महिलालाई पुरुषको तुलनामा उसै पनि शालिन मानिन्छ । यसैको उदाहरण पेश गरिरहेका छन कैलाली–१ बाट एक–अर्काको प्रतिष्पर्धी बनेका दुई महिला उम्मेद्वारले । कांग्रेसकी पूर्व सांसद ईश्वरी न्यौपाने र वाम गठबन्धनका तर्फबाट एमाले केन्द्रीय सदस्य मदनकुमारी शाहको शालिन टकराव टीकापुरमा देख्नसकिन्छ । न्यौपाने कांग्रेसकी केन्द्रीय सदस्य र पूर्व सचेतक हुन् । उनी कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभावशाली मानिन्छिन् । शाह ०७० सालकी समानुपातिक सांसद हुन् । युवा संघ हुँदै एमाले राजनीतिमा प्रवेश गरेकी चीरपरिचित युवा नेतृ हुन्, शाह । दुबै नेतृहरु ०७० सालको संविधानसभामा समानुपातिक सभासद थिए ।

न्यौपाने र शाहको चुनाव प्रचार शैली अलि बेग्लै छ । दुवैले मतदातामाझ आफ्नो शान्त र भद्र स्वभाव प्रस्तुत गर्ने गरेका छन् । आपसी घोचपेचलाई टाढा राखेका छन् । जसले जीते पनि एक महिला संसदमा पुग्ने कुरालाई उनीहरुले मुख्य विषयवस्तु बनाएको पाइन्छ । टीकापुर क्षेत्रबाट ०७० सालको निर्वाचनमा जनकराज चौधरीले जितेका थिए, लोकतान्त्रिक फोरमबाट । पार्टी एकतासँगै जनक पनि अहिले कांग्रेसमा पुगेका छन् । अहिले उनी कांग्रेसबाट कैलाली–१ ‘क’मा प्रदेश सभाका उम्मेद्वार छन् । कैलाली–१ मा स्थानीय निर्वाचनको मतमा लोकतान्त्रिक गठबन्धन अगाडि थियो । तथापि, थोरै मतले टीकापुर नगरपालिकाको मेयरमा एमालेका उम्मेद्वार विजयी भएका थिए । यस क्षेत्रमा टीकापुर नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका पर्छन् ।

अहिले राप्रपाले पनि कांग्रेस उम्मेद्वार न्यौपानेलाई समर्थन गरेको छ । तत्कालीन फोरम लोकतान्त्रिकको प्रभाव क्षेत्र भएकाले त्यो लाभ पनि कांग्रेस नेतृ न्यौपानेलाई देखिन्छ । एमाले नेतृ शाहसँग माओवादीको संगठन पनि जोडिएको छ । सोही कारण उनको ‘पोजिसन’ पनि कमजोर देखिँदैन । खासगरी, थारु समुदायमा माओवादीको पकड राम्रो मानिन्छ ।

ईश्वरी र गरिमा दुबैलाई ७ भदौ ०७२ मा टीकापुरमा भएको नरसंहारका मुख्य योजनाकार भएको आरोप लागेपछि भूमिगत बनेका रेशमलाल चौधरीले पनि उम्मेद्वारी दिएर छन् । उनी राजपामार्फत् प्रतिनिधिसभाका उम्मेद्वार बनेका हुन् । उनको पक्षमा थारु समुदायको मत पर्याप्त खस्यो भने त्यसको जोखिममा दुवै नेतृ देखिन्छन् । कांग्रेस उम्मेद्वार ईश्वरी न्यौपाने भन्छिन्–‘रेशमले भ्रम छर्ने कोशिस गरिरहेका छन्, आफूले जितेमा जेलमा भएका कैदीहरुलाई छुटाउने भ्रम सिर्जना गरिरहेका छन् ।’

रेशमका पिता लालवीर चौधरी एमालेबाट प्रदेशसभा ‘क’ तर्फ उम्मेद्वार छन् । उनको प्रतिष्पर्धा कांग्रेसका जनक चौधरीसँग छ ।
‘केही दलहरुले त्यो घटनासँग एमालेलाई प्रत्यक्ष मुछ्ने गरेको पाइन्छ’–एमाले उम्मेद्वार शाह भन्छिन्–‘जेलमा रहेका २२ जनालाई छुट्न नदिने एमाले नै भएको भ्रम पारिएको छ, हामीले चिर्नुपर्ने यी दुई विषय हुन् ।’ यो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी थारु मतदाता छन् । ४० प्रतिशतभन्दा कम पहाडी मतदाता छन् । थारु समुदायको मत नलिई कसैले पनि जित्न सक्ने भने देखिंदैन । सबै दलहरु थारु समुदायमा आफ्ना एजेण्डा लागू गराउने प्रयासमा देखिन्छन् । र, उक्त समुदायलाई रिझाउन लागिपरेका छन् ।

टीकापुरमा प्युठानीको संख्या पनि ठूलो छ । एमाले उम्मेद्वार शाह बाजुराकी छोरी र अछामकी भाञ्जी हुन् । टीकापुर क्षेत्रमा अछामबाट झरेको जनसंख्या धेरै छ । त्यताको मत शाहलाई जाने सम्भावना देखिन्छ । कर्णाली नदीभन्दा पूर्वबाट आएको जनसंख्याको मत कांग्रेसकी न्यौपानेलाई जाने सम्भावना छ । शाहका चुनावी एजेण्डा युवालाई आकर्षित गर्न खेलकुद विकास हो । आर्थिक समृद्धि, टीकापुर क्षेत्रमास्तरीय अस्पताल, कनेक्टिभिटीलगायत उनका एजेन्ण छन् । कांग्रेसकी न्यौपानेले पनि आर्थिक विकास र समृद्धिकै एजेण्डा अगाडि सारेकी छन् । अछाम सेन्टिमेन्टका मतदाताले प्रदेशसभा ‘ख’ मा कांग्रेसका रणबहादुर रावललाई मत दिने सम्भावना बलियो छ । प्रदेशसभा ‘क’ मा थारु बाहुल्य क्षेत्र भएकाले कांग्रेसका जनक चौधरीको पल्ला भारी देखिन्छ । अछाम सेन्टिमेन्टको मत एमालेकी शाहलाई खस्ने सम्भावनाका कारण न्यौपाने कमजोर रहेको आंकलन पनि छ स्थानीयस्तरमा । तर, उनी र रावल दुवै पार्टीमा समस्या नरहेकाले मत बाँडिने सम्भावना नरहेको बताउँछन् ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्