बाँकेमा बढ्यो चुनावी सरगर्मी

सहयात्रा टिभी

बाँके । पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुई पक्षीय र ३ मा त्रिपक्षीय प्रतिष्पर्धा देखिएको छ । निर्वाचन क्षेत्र नं १ र ३ को तुलनामा नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको क्षेत्र नं २ लाई भने बढी चासोका साथ हेरिएको छ ।

२०४८ सालदेखि निरन्तररुपमा पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाले उम्मेद्वारी दिंदै आएको यो क्षेत्रमा पहिलो पटक कांग्रेस आफ्नो उम्मेद्वारविहीन अवस्थामा मैदानमा छ । कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजादलाई समर्थन गरेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि यस पटक सूर्य चिन्ह्मा स्वतन्त्र राजनीतिक समूहका पशुपतिदयाल मिश्रलाई समर्थन गरेका छन् । यस्तै संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राई र राष्ट्रिय जनता पार्टीका विजयकुमार गुप्ता पनि सशक्त रुपमा अघि बढेका छन् ।

क्षेत्र नंं १ मा लोकतान्त्रिक समूहबाट नेपाली कांग्रेसका माधवराम खत्री र वाम गठबन्धनबाट माओवादी केन्द्रका महेश्वरजंग गहतराजबीच कडा प्रतिष्पर्धा छ । सो क्षेत्रमा २०४८ यताको निर्वाचनमा नेपाली कांग्रेसले दुई पटक र राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र एमालेले एक÷एक पटक जितिसकेका छन् । कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिका रहेको सो क्षेत्रमा जनसंख्या बढी र भौगोलिक दृष्टिकोणले समेत ठूलो क्षेत्रका रुपमा रहेको छ ।

यो क्षेत्रको प्रदेशसभा सदस्यमा मुख्यतया दुई पक्षीय प्रतिष्पर्धा हुने देखिन्छ । यस क्षेत्रअन्तर्गत पर्ने प्रदेशसभा ‘क’ र ‘ख’ मा पनि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । ‘क’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका कृष्णा केसी नमूना र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका शरदचन्द्र बर्मा उम्मेद्वार छन् ।
प्रदेशसभा सदस्य ‘ख’ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका नारायणप्रसाद गौडेल र वाम गठबन्धनबाट एमालेका आरती पौडेलबीच मुख्य प्रतिष्पर्धा छ । यसैगरी क्षेत्र नं २ नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको यस क्षेत्रमा भने त्रिपक्षीय प्रतिष्पर्धा छ । ०४८ सालदेखि २०७० सालसम्मका पाँच वटा निर्वाचनमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रमुख प्रतिष्पर्धा हुँदै आएकोमा यस पटक यिनै दुई दलबीच तालमेल छ । कांग्रेस र राप्रपाको समर्थनमा राप्रपाका ओमप्रकाश आजाद उम्मेद्वार छन् भने वाम गठबन्धनबाट पशुपतिदयाल मिश्र उम्मेद्वार छन् । राष्ट्रिय जनता पार्टीको सहमहामन्त्री त्यागेका मिश्रलाई एमालेले आफ्नो चुनाव चिन्ह्मा मैदानमा उतारेको छ । मधेशी समुदायका चर्चित नेताका रुपमा परिचित मिश्रलाई पहिलो पटक पहाडी समुदायका नेताले वाम गठबन्धनबाट अघि सारेका हुन् तर सोही समुदायको मत उनलाई आउने नआउनेबारे चर्चा पनि उत्तिकै छ ।

यसैगरी संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राईले प्रमुख गठबन्धनका उम्मेद्वारलाई ठूलै चुनौती दिएका थिए । २०६४ सालमा मधेशी जनाधिकार फोरम नेपालबाट जितेका उनी पूर्व यातायात व्यवस्थामन्त्री समेत छन् । मुस्लिम समुदायको प्रतिनिधित्व भएकाले भावनात्मक भोट पाउनेमा उनी ढुक्क छन् । यी तीन जनाबीचको त्रिपक्षीय प्रतिष्पर्धासँगै यो क्षेत्रमा राजपाका विजयकुमार गुप्ताको प्रभाव पनि देखिन्छ । गुप्ताले २०४८ सालमा नगर प्रमुख हुँदा राम्रो प्रभाव पारेका थिए । सो क्षेत्रका प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका निरञ्जनसिंह सिजापति र माओवादी केन्द्रका कामताप्रसाद खटिक उम्मेद्वार छन् । संघीय समाजवादी फोरम नेपालका विजय यादव पनि बलियो उम्मेद्वार हुन् । शहर क्षेत्र रहेको ‘ख’ मा कांग्रेसबाट नेपालगञ्जका पूर्व उपप्रमुख सुरेन्द्र हमाल र एमालेबाट विजयकुमार गुप्ताबीच प्रतिष्पर्धा छ । यस्तै संघीय समाजवादी फोरम नेपालका दुर्गेश गुप्ता पनि उम्मेद्वारका रुपमा प्रतिष्पर्धी छन् ।

यस्तै बाँके निर्वाचन क्षेत्र नंं ३ मा प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद बादशाह कुर्मी र एमालेका पुराना नेता नन्दलाल रोकायाबीचको प्रतिष्पर्धा देखिन्छ । स्थानीय तह निर्वाचनमा सो क्षेत्रका तीन वटै तह जितेको एमालेले माओवादी केन्द्रको समर्थन पाएपछि निकै उत्साहित छ । ‘क’ मा लोकतान्त्रिक गठबन्धनले नेपाली कांग्रेसका चन्तराम थारु र वाम गठबन्धनले माओवादी केन्द्रका आइपी खरेललाई अगाडि सारेको छ । ‘ख’ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका लक्ष्मीनारायण शाह र वाम गठबन्धनबाट एमालेका बाबुराम गौतमबीच प्रतिष्पर्धा देखिएको छ ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्