केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनुषामा त्रिकोणात्मक प्रतिष्पर्धा

सहयात्रा टिभी

धनुषा । धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा कंँग्रेस, वाम गठबन्धन र मधेसी गठबन्धनबीच त्रिकोणात्मक प्रतिष्पर्धा हुने स्पष्ट देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं १ बाट वाम गठबन्धनबाट माओवादी नेता मातृकाप्रसाद यादव प्रत्यक्ष चुनावी मैदानमा पहिलो पटक उभिएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आनन्द ढुङ्गानाले उम्मेद्वारी दिएका छन् भने फोरम राजपा गठबन्धनबाट फोरमका दिपक कार्कीले उम्मेद्वारी दिएका छन् । कार्की कांग्रेस छाडेर भर्खरै फोरमा आएका हुन् । प्रदेशसभा सदस्यका लागि धनुषा १ को ‘क’ बाट वाम गठबन्धनका तर्फबाट एमालेका किशोरी साह, १ ‘ख’ बाट वाम गठबन्धनबाट माओवादीका रामचन्द्र मण्डल चुनाबी मैदानमा छन् । यता नेपाली कांग्रेसबाट १ ‘क’ मा प्रेमकिशोर साह र ‘ख’ मा रामउदय यादव प्रतिष्पर्धा गर्दैछन् । त्यस्तै फोरम राजपा गठबन्धनबाट ‘१’ क मा फोरमका श्यामनारायण यादव तथा १ ‘ख’ मा राजपाका सञ्जय सिंह उम्मेद्वार छन् । क्रान्तिकारी छवीका यादवको प्रतिष्पर्धा धनुषामा हेमबहादुर मल्ललाई लगातार तीन पटक हराउन सफल नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानासँग छ ।

धनुषा–१ मा गणेशमान चारनाथ, धनुषाधाम, मिथिला, क्षिरेश्वरनाथ, मिथिला विहारी, सबैला र हंशपुर नगरपालिका गरी सात वटा स्थानीय तह छन् । स्थानीय तहको निर्वाचनमा गणेशमान चारनाथ नगरपालिका र सवैला नगरपालिकामा माओवादी केन्द्रले उपप्रमुखसहित केही वडाध्यक्षमा जितेको थियो भने बाँकीमा कांग्रेस र मधेसवादी दलले जितेका थिए । यहाँ स्थानीय तहमा कांग्रेसले बढी सिट जितेका छ । यादव अब संविधान संशोधन गराउन र मधेसको विकासका लागि प्रतिनिधिसभा चुनावमा उम्मेद्वारी दिएको बताइरहेका छन् ।

अर्का प्रतिष्पर्धी ढुङ्गाना मधेस र मधेसीको माग नेपाली कांग्रेसले मात्र पूरा गर्न सक्ने भएकाले नेपाली कांग्रेसमा मतदान गर्न सबैलाई आग्रह गरिरहेका छन् । यता मधेसी गठबन्धनका उम्मेद्वार दिपक कार्की पूराना अनुहारभन्दा जनताले नयाँ अनुहारका नेता खोजेकाले आफू जित्नेमा ढुक्क छन् । त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा पनि त्रिकोणात्मक प्रतिष्पर्धा देखिएको छ । नेपाली कांग्रेस, वाम गठबन्धन र मधेसवादी गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमबीच कडा टक्कर देखिएको छ । नेपाली कांग्रेसबाट रामकृष्ण यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता रामचन्द्र झा र संघीय समाजवादी फोरमबाट उमाशंकर अरगडियाबीच कडा प्रतिष्पर्धा निश्चित छ ।

प्रकाशित : 3 December, 2017

प्रतिक्रिया दिनुहोस्