चुनावी चाल्नोमा १६३ निवर्तमान सांसद, कसको भविष्य के होला ?

सहयात्रा टिभी

काठमाण्डौं । दोस्रो संविधानसभामा सदस्य रहेका १६३ सांसद् आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमार्फत चुनावी अदालतमा उभिएका छन् । निर्वाचन क्षेत्र पुनर्संरचनासँगै धेरै सांसदहरुको निर्वाचन क्षेत्र अर्कोतिर पनि गाभिएको छ । काठमाण्डौं, झापा, मोरङ र प्रदेश नम्बर–२ का बहुसंख्यक क्षेत्रमा भने यसअघिका निर्वाचन क्षेत्र कायम छन् । निर्वाचन क्षेत्र फेरिए पनि धेरै निवर्तमान सांसद्ले चुनाव लड्ने भूगोल भने फेरिएको छैन ।

उस्तै खालका आफ्ना प्रतिष्पर्धीका कारण धेरै सांसद्लाई यो पटक जीत दोहो¥याउने चुनौती छ । केही सांसद् ‘सेफ जोन’ मै चुनाव लडिरहेका छन् । कतिपयको प्रतिष्पर्धा कडा हुने स्पष्ट छ । ०७० को संविधानसभा सदस्यमा निर्वाचित अधिकांश शीर्ष नेता यो पटक पनि चुनावी मैदानमा छन् । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, शेखर कोइराला, सशांक कोइरालालगायत ठूला नेताहरु प्रत्यक्षमै चुनाव लड्दै छन् ।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पार्टी उपाध्यक्ष बामदेव गौतम, भीम रावललगायतका हेवीवेट नेताहरु प्रत्यक्ष निर्वाचनमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेतलगायत नेता पनि प्रत्यक्षतर्फकै भिडिन्तमा तयार छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, राजपा नेता महिन्द्रराय यादव पनि चुनावी मैदानमा छन् । राप्रपा अध्यक्ष कमल थापा यो पटक प्रत्यक्षतर्फ चुनावी मैदानमा छन् । यसअघि उनी समानुपातिक उम्मेद्वार थिए ।

कैलाली–१ मा दुई पूर्व सांसद् मदनकुमारी शाह (गरिमा) र ईश्वरी न्यौपाने एक–अर्कालाई उछिन्ने दाऊमा छन् । यस्तै, दोस्रो संविधानसभामा समानुपातिक उम्मेद्वार बनेकी महालक्ष्मी उपाध्याय (डिना) मकवानपुरमा एमालेका विरोध खतिवडासँग प्रतिष्पर्धामा छिन् । खोटाङमा निवर्तमान सांसदद्वय विशाल भट्टराई र सरस्वती वजिमय प्रतिष्पर्धामा छन् । ओखलढुङ्गामा रामहरि खतिवडा र यज्ञराज सुनुवारको चुनावी लडाई छ ।

प्रकाशित : 4 December, 2017

प्रतिक्रिया दिनुहोस्