केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन सुरक्षाका लागि सीमा नाका सिल

सहयात्रा टिभी

मोरङ । दुई दिनपछि हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाका लागि आज (मंगलबार) बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका शिल गरिएको छ ।

बिहीबार हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएका मोरङको ४२ किलोमिटर सीमा नाका शिल गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । नेपाल र भारतमा हुने गरेको निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीहरुले आपसी छलफलमा सीमानाका शिल गरिएको हो । यसै गरी सोही निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाकाहरू पनि ७२ घण्टाका लागि बन्द गरिएको छ । सुरक्षालाई मध्यनजर गर्दै गए राति १२ बजेदेखि मंसिर २१ गते राति १२ बजेसम्म ७२ घण्टाका लागि सीमा बन्द गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताएका छन् ।

निर्वाचनका समयमा सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि सीमा नाका बन्द गरिएको उनले बताए । उनका अनुसार जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा समितिमा छलफल भइरहेको र सुरक्षा रणनीति पनि तयार पारिएको छ । इलामका प्रमुख सीमा नाकाहरू पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, तुम्लिङ, सन्दकपुरलगायतका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन् ।

सीमा क्षेत्रमा लागूऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसार–पसार, आपराधिक गतिविधि, चोरी तस्करीलगायतका घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ । यस्तै दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गए राति १२ बजेबाट सुनसरीको नेपाल–भारत सीमा नाका पनि बन्द भएको छ ।

दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गते साझ ६ बजेसम्मका लागि जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार त्यस अवधिभर जिल्लाका कोशी ब्यारेजदेखि केसलीसम्मको ६२ किलोमिटर सीमा नाका बन्द गरिएको हो । सीमा नाका बन्द भएपछि सीमा क्षेत्रबाट सबै साना र ठूला सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज भएको छ ।

प्रकाशित : 5 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्