केपी ओली प्रचण्ड माधव नेपाल एमाले


व्यक्तिगत रुपमा समेत कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्न सकिने

सहयात्रा टिभी

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ । रकम जम्मा गर्नेको संख्या बढाउने लक्ष्यका साथ व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न पाउने योजना सञ्चय कोषले अगाडि सारेको हो । कोष सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ ।

कोषका निमित्त प्रशासक दिपक रौनियारले सञ्चालक समितिको बैठकले सो विषयमा आवश्यक निर्णय गरेपछि व्यक्तिगत रुपमा कोष जम्मा गर्न पाउने मार्ग प्रशस्त हुने जानकारी दिए । कोषमा हाल ६ लाखभन्दा बढीले कोष कट्टी गर्दै आएका छन् । स्वरोजगार, अनौपचारिक क्षेत्रमा काम गरिरहेका नागरिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत कोषमा सहभागी गराउने लक्ष्यका साथ नयाँ कार्ययोजना अगाडि ल्याउन लागिएको रौनियारको भनाइ छ । यसअघि नीजि क्षेत्रका संस्थाले पनि दश जनासम्मका कर्मचारीको रकम कोषमा जम्मा गर्दै आएका थिए । नयाँ व्यवस्थापछि व्यक्तिगत रुपमा रकम जम्मा गर्न सकिने छ ।

नागरिक लगानी कोषले दिए जस्तै सुविधा कोषले पनि दिन लागेको हो । कोषको कूल बचत रकमलाई सात खर्ब पु¥याउने लक्ष्यका साथ अनौपचारिक क्षेत्रमा काम गर्नेलाई समेत सहभागी गराउन लागिएको निमित्त प्रशासक रौनियारले बताए । कोषले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कोषको सदस्य बनाउने र रकम जम्मा गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ । हाल औपचारिक र अनौपचारिक रुपमा गरी देशका करिब ४० लाख युवा वैदेशिक रोजगारीमा छन् ।

वैदेशिक रोजगारीमा रहेका युवाले पठाउने विप्रेषणलाई बचत गर्न प्रेरित गर्ने लक्ष्यका साथ त्यस्तो योजना ल्याउन लागिएको हो । विप्रेषणबाट प्राप्त रकम अनावश्यक रुपमा खर्च भइरहेको र जताबाट आयो उतै जाने अवस्थाको अन्त्यका लागि त्यस्तो योजना अगाडि सारिएको रौनियार बताए । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ‘रेमिट्यान्स हाइड्रो’ को अवधारणा सोही प्रयोजनका लागि अगाडि सारेको हो । रेमिट्यान्स हाइड्रो कम्पनीमार्फत हाल ताप्लेजुङमा घुन्सा खोला जलविद्युत् आयोजना ७१.५ मेगावाट र सिंबुआ खोला ५३.७ मेगावाट क्षमताका आयोजना निर्माणको प्रक्रियामा अगाडि बढाउने योजना छ । वैदेशिक रोजगारमा रहेका नागरिकले कमाएको रकम सदुपयोग होस् भन्नेतर्फ कोषले ध्यान दिन थलेको छ ।

विप्रेषणबाट प्राप्त रकम अनुत्पादनशील क्षेत्रमा बढी खर्च भइरहेको छ । त्यसलाई रोक्ने उपाय बचत गर्ने बानीको विकास गर्ने र लगानीका अवसर सिर्जना गर्ने लक्ष्यका साथ यस्तो अवधारणा ल्याइएको हो । जलविद्युत् लगानी तथा विकास कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुमपा रहँदा रौनियारले नै रेमिट्यान्स हाइड्रोको अवधारणा अगाडि सार्नुभएको थियो । सबै वर्ग तथा क्षेत्रका नागरिकलाई रकम जम्मा गर्न पाउने सहज व्यवस्था भएपछि कोषको कूल बचत रु सात खर्ब पुग्ने विश्वास लिइएको छ । नेपालको हालको कूल बजेट बराबरको पुँजी बनाउने लक्ष्यका साथ कोषले कार्ययोजना अगाडि सारेको रौनियारले बताएका छन् । आगामी दिनमा सबल र सक्षम आर्थिक संस्थाका रुपमा कोष अगाडि बढ्नुका साथै मुलुकको आन्तरिक लगानीमा विविध स्रोत तथा आयामका बारेमा सहज मार्ग निर्देश गर्नेछ । कोषले नेपाल वायु सेवा निगमलाई विमान खरिदमा मात्रै २० अर्ब लगानी गरिसकेको छ ।

प्रकाशित : 5 December, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्