केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मानव बेचविखनले तस्करीको रुप लिंदै

सहयात्रा टिभी

चितवन । पछिल्लो समय मानव बेचविखनले तस्करीको रुप लिन थालेको छ । मानव बेचबिखनको रुप बदलिन थालेको भन्दै चितवनका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चितवनको भरतपुरमा माइती नेपालले आयोजना गरेको अन्तरक्रियामा न्यायाधीश, कानुन व्यवसायी तथा अधिकारकर्मीले यस्तो बताएका हुन् ।

चितवनका जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले मानव बेचबिखनको रुप बदलिएर मानव तस्करीमा पुगेको भन्दै यसको नियन्त्रणका लागि सरोकारवाला निकायको सामुहिक प्रयास हुनुपर्ने बताए । मानव बेचबिखनविरुद्ध न्यायिक निकाय, प्रभावित सरोकारवाला तथा मानवअधिकार रक्षकबीच हिजो भएको अन्तरक्रियाका क्रममा न्यायाधीश शर्माले अहिले भारतमा मात्रै नभएर वैदेशिक रोजगारीको नाममा विश्वका अन्य मुलुकमा बेचबिखन तथा यौन शोषण हुने गरेको उल्लेख गरे ।

माइती नेपालकी कानुन अधिकृत तथा अधिवक्ता सजनी जोशीले रुप बदलिएर वैदेशिक रोजगार र शिक्षा, झूटो विवाह, मसाज पार्लर, विभिन्न अङ्ग बेचबिखन तथा छालाको व्यापारका लागि मानव तस्कर हुने गरेको पाइएको बताए । ‘पछिल्लो समयमा खत मेट्न, स्वरुप बदल्न मानिसको छाला झिक्ने क्रम देखिएको छ’–जोशीले भने–‘यस्ता घटना समेत देखिन थाल्नु चुनौतीको विषय हो ।’

विश्वमा हरेक वर्ष २० लाख मानिस बेचबिखनमा पर्ने गरेको सो अवसरमा जानकारी दिइयो । तीमध्ये ७० प्रतिशत महिला र पाँच प्रतिशत बालबालिका छन् । सरोकारवालाले बेचबिखनमा फितलो कानुन, सुनुवाइमा समस्या, न्यायको पहुँचमा कमी, उद्धार पुनस्र्थापनामा समस्या देखिएको छ । कार्यक्रममा हालै माइती नेपालको प्रयासमा उद्धार गरिएकी एक जना पीडित महिलाले आफूलाई राम्रो जागिर भनेर ओमन लगे पनि २४ घण्टासम्म काममा खटाएर शारिरीक शोषण गरेको अनुभव सुनाइन् । त्यस्तो समस्यामा सयौं नेपाली महिला परिरहेको उनको भनाइ थियो ।

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्