राष्ट्रिय मानवअधिकार आयोगको टोलीद्वारा अनुगमन

सहयात्रा टिभी

कञ्चनपुर । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको राष्ट्रिय मानवअधिकारको निर्वाचन पर्यवेक्षक टोलीले आज कञ्चनपुरमा अनुगमन गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठक, आयोगका क्षेत्रीय निर्देशक दीपकजंग ध्वज कार्की, आयोगका अनुसन्धान प्रमुख राजेन्द्र न्यौपाने र जिल्ला पर्यवेक्षक उमा जोशीलगायतको टोलीले अनुगमन गरेको हो ।
निर्वाचन पूर्व जिल्लाको सुरक्षा अवस्था, हालको सुरक्षा व्यवस्था र निर्वाचन आचारसंहिता परिपालना भए नभएको विषयमा आयोगको टोलीले प्रजिअ कुमार खड्कासँग जानकारी लिएको छ ।

महेन्द्रनगरलगायत पूर्व–पश्चिम राजमार्गका बजार क्षेत्रमा सार्वजनिकस्थलमा जथाभावी पर्चा, पम्पप्लेट टाँसिएको र विभिन्न पार्टीका प्रचार सामग्री प्रत्यक्ष मतदातालाई प्रभावित पार्ने गरी झुण्ड्याइएको पाइएकाले तुरुन्त हटाई आचारसंहिताको पालना गर्न टोलीले निर्देशन दिएको छ ।

सबै मतदानस्थलमा कर्मचारी खटाइसकेको सुरक्षा व्यवस्था कडा पारिसकेको, निर्वाचन सामग्रीलगायत समग्र तयारी पूरा भइसकेको प्रजिअले आयोगको टोलीलाई जानकारी गराए । मौन अवधिमा भ्रामक कुरा नगर्न राजनीतिक दललाई राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठकले आग्रह गरेका छन् ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने वातावरण सिर्जना गर्ने दायित्व राज्यको भएकाले सबै क्षेत्रमा मतदाताले शान्तिपूर्ण मतदान गर्न पाउनु पर्छ । उनले भने–‘गर्भवती महिला, वृद्ध, अपाङ्ग जस्ता व्यक्तिलाई सहजरूपमा मतदान गर्ने वतावरण बनाउनु पर्छ ।’

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्