केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनकै मुखमा आचारसहिंता उल्लंघन वृद्धि

सहयात्रा टिभी

ललितपुर । निर्वाचनकै मुखमा जिल्लाका विभिन्न स्थानमा उम्मेद्वार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ ।
उम्मेद्वारी दर्तापछि शुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिंदै गर्दा उल्लंघन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले बताए । उनले भने–‘जिल्लाका विभिन्न भागमा ब्यानर, पम्प्लेट टाँस्ने काम बढिरहेको छ ।’

शहरका भित्री भागभन्दा पनि चक्रपथ बाहिर उम्मेद्वारका प्रचार सामग्री टाँसिएको र झुण्ड्याएको बढी पाइएको छ । दलका उम्मेद्वार मात्रै होइन, आचारसहिंताको उल्लंघन गर्नेमा स्वतन्त्र उम्मेद्वार समेत छन् । आचारसहिंता पालना गराउनका लागि जिल्लास्तरमा सर्वदलीय बैठक भइरहेका छन् । बैठकमा आचारसहिंता विपरीत राखिएका पर्चा, पम्प्लेट हटाउन दल र उम्मेद्वारलाई पटक–पटक सम्झाइएको पाण्डे बताउँछन् । कार्यालयले लिखित र मौखिक दुवै रुपमा उम्मेद्वारलाई आचारसंहिताको पालना गर्न सम्झाइरहेको छ । उनले भने–‘हामीले

यही मंसिर १४ गते लिखित रुपमा नै बढी प्रचार सामग्री भएका दल र उम्मेद्वारलाई हटाउन भनेका थियौं ।’
आचारसहिंता विपरीत राखिएका प्रचार सामग्री हटाउन कतिले माने पनि कतिपयले अटेर गर्ने गरेको पाण्डे बताउँछन् । उनले भने–‘हामीले भनेपछि कतिपयले भने भोलिपल्ट आफैंं हटाएका पनि थिए ।’ अटेर भएका कतिपय स्थानमा भने सुरक्षाकर्मीको सहयोगमा हटाइएको छ । सुरक्षाकर्मीले केही दिन पहिले जाउलाखेल, पुल्चोक, सानेपालगायत स्थानमा आचारसहिंता विपरीत राखिएको प्रचार सामग्री हटाएको थियो ।

केन्द्रमा निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयनको अवस्था अनुगमन गरिरहेको छ । जिल्लामा भने एक अधिकारीलाई आचारसंहिता कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । एक जना मात्रै हुँदा रिपोर्टिङ भन्दा अरु काम गर्न नभ्याइने पाण्डे बताउँछन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीता साम्बा लिखितभन्दा पनि मौखिक उजुरी आउने गरेको बताउँछिन् । केही दिन पहिले ठेचोमा झण्डालगायत प्रचार सामग्रीको प्रयोग भएको उजुरी आएको थियो । उनले भनिन्–‘लिखित रुपमा भने एउटा पनि उजुरी हामीकहाँ आएको छैन ।’ मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले निर्वाचन आचारसहिंता विपरीत प्रचार सामग्री राख्ने काम ग्रामीण क्षेत्रमा मात्रै रहेको बताउँछन् । उनले भने–‘शहरी क्षेत्रमा छिटफुट भए पनि हामीले हटाउन लगाएका छौं ।’

जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेद्वारी परेको छ । जिल्लाभरमा दुई लाख २८ हजार ३३८ जना मतदाता छन् । क्षेत्र नं ३ मा सबैभन्दा बढी ८६ हजार ४३९ र क्षेत्र नं १ मा सबैभन्दा कम ६५ हजार ९१८ मतदाता छन् । क्षेत्र नं २ मा ७५ हजार ९८१ मतदाता छन् । स्थानीय निकायको निर्वाचनमा भन्दा अहिले झण्डै १५ हजार मतदाता थप भएको कार्यालयले जनाएको छ । जिल्लामा १३१ मतदानस्थलमा २७७ मतदान केन्द्र छन् ।

प्रकाशित : 6 December, 2017

प्रतिक्रिया दिनुहोस्