केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ-प्रहरी

सहयात्रा टिभी

काठमाण्डौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भईरहेका ४५ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जानकारी दिए । उनले भने–‘प्रहरीले मजबुत रुपमा शान्ति सुरक्षा मिलाएको छ । मतदानका लागि मतदाता ढुक्क भएर लाइनमा बस्नु भएको छ । कहींकतै समस्या आए तत्काल प्रहरी पुग्छ । कुनै समस्या छैन ।’

कहींकतै समस्या परे तत्काल शान्ति सुरक्षाको प्रबन्ध मिलाउने गरी हेलिकप्टर तम्तयार हालतमा राखिएको छ । निर्वाचन हुन लागेका जिल्लालाई हेर्ने गरी नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर समेत तम्तयार राखिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालित छन् । कहींकतै समस्या आए र देखिए तत्काल सुरक्षा निकायमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले शान्ति सुरक्षामा समस्या आए पाँच मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुग्ने गरी विभिन्न स्थानमा सुरक्षाकर्मी व्यवस्थित तवरले परिचालन गरिएको जनाएको छ ।

शान्ति सुरक्षामा कुनै सम्झौता नगरिएको जानकारी दिंदै प्रहरी प्रवक्ता न्यौपानेले कुनै शंकास्पद वस्तु देखिए वा अवाञ्छित गतिविधिको सूचना प्राप्त भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका छन् । प्रहरीले बम भनी हल्ला गरिएका शंकास्पद वस्तु अधिकांश बम नभएको जनाएको छ ।

काठमाण्डौंको नैकापमा आज बिहान फेला परेको शंकास्पद वस्तु पनि पटका मात्रै रहेको उनले जानकारी दिए । निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृह सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । यस्तै, निर्वाचन हुने जिल्लामा सुरक्षा सहयोगका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ । कुनै घटना भइहाले १० देखि ३० मिनेटभित्र जुनसुकै स्थानमा सुरक्षाकर्मी पुग्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा एक करोड २२ लाख ३५ हजार ५७८ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्