काठमाण्डौंका चर्चित नेताले गरे मतदान

सहयात्रा टिभी

काठमाण्डौं । आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाण्डौंका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले बिहान ८ बजेर ५ मिनेटमा स्काइलार्क स्कुल धापासीबाट मतदान गरे । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माविबाट ८ः४० मा मतदान गरेका छन् । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचङ्गु पञ्चधारा मतदान केन्द्रबाट मतदान गरेकी छन् । रक्षामन्त्री भीमसेनदास प्रधानले बिहान ७ः३० मा कामपा—२७ वडाअन्तर्गत ज्याठाको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गरे । त्यसैगरी, नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा बिहान ८ः३० मा मतदान गरेका छन् ।

त्यस्तै, काठमाण्डौं क्षेत्र नं ८ का उम्मेद्वार नवीन्द्रराज जोशीले ढोकाटोलमा रहेको अरुणोदय मावि मा मतदान गरेका छन् । काठमाण्डौं क्षेत्र नं ९ का उम्मेद्वार ध्यानगोविन्द रञ्जितले काठमाण्डौं महानगरपालिकामा रहेको जैशीदेवलको मतदान केन्द्रमा गएर मतदान गरेका छन् ।

एमालेका युवा नेता डा. राजन भट्टराईले काठमाण्डौं क्षेत्र नं ४ मा पशुपति बहुमुखी क्याम्पस, चावहिल केन्द्रबाट तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ललितपुरको भैंसेपाटीस्थित महिलाघर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाः राष्ट्रिय मावि, ढल्को, छत्रपाटी मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी काठमाण्डौं क्षेत्र नं ७ को समानुपातिक उम्मेद्वार हुन् । यस्तै, काठमाण्डौं क्षेत्र नं १० का प्रतिनिधिसभाका उम्मेद्वार राजन केसीले भने काठमाण्डौं क्षेत्र नं ८ मा रहेको सोल्टीमोड मतदान केन्द्रबाट मतदान गरेका छन् । युवा तथा खेलकुद मन्त्री समेत रहेका केसीको पुख्र्यौली घर चोभारमा भए पनि उनको मतदाता नामावली भने काठमाण्डौं क्षेत्र नं ८ मा रहेको छ । त्यस्तै, काठमाण्डौं क्षेत्र नं १० का वाम गठबन्धनका उम्मेद्वार हितमान शाक्यले काठमाण्डौं क्षेत्र नं ९ मा रहेको चन्द्रागिरी नगरपालिका–९ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्