केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि इतिहासको अर्काे अध्यायको शुरुवात–अध्यक्ष दाहाल

सहयात्रा टिभी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्काे अध्यायको शुरुवात भएको बताएका छन् ।

जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट मतदानपछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले निकै ठूलो संघर्ष र बलिदानपछि यहाँसम्म आइपुगेको बताएका छन् । अब राजनीतिक यात्राको होइन, विकासको यात्रा शुरु भएको भन्दै उनले यो निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने बताए ।

उनले भने–‘यसले विकास निर्माणको निम्ति राम्रो वातावरण बन्छ र हामी त्यतातर्फ केन्द्रित हुन्छौं ।’ राजनीतिक स्थायित्वको पहिलो आधार यो निर्वाचन भएको भन्दै उनले नेपालको इतिहासमा धेरै संघर्ष र परिवर्तन हुँदा पनि कहिल्यै पनि सरकार पाँच वर्ष टिक्न नसकेको बताए । उनले भने–‘दिगो सरकार नहुँदा विकास निर्माणले गति लिन पाएन ।’ गठबन्धनद्वारा बहुमतको सरकार बन्ने र सबै विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले भने–‘अब जसले भए पनि गठबन्धनले बहुमत ल्याउनुपर्छ, यस पटक वामपन्थीकै बहुमत आउँछ, त्यसमा शंका गर्नुपर्ने छैन ।’ यो परिवर्तनका निम्ति सबैभन्दा ठूलो विद्रोहको नेतृत्व आफूले गरेको भन्दै शान्ति सम्झौताको नेतृत्व पनि गिरिजाप्रसाद कोइराला र आफूले गरेको बताए ।

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्