केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गाउँकै विद्युत आयोजनामा १५० जना रोजगार

सहयात्रा टिभी

म्याग्दी । हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् ।

जिल्ला सदरमुकाम बेनीदेखि चार घण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । यी जलविद्युत् आयोजनाबाट स्थानीयवासीले रोजगार पाउनाका साथै मासिक न्यूनतम १५ हजारदेखि ५० हजारसम्म कमाई गर्दै आएका स्थानीयवासी २९ वर्षीय वीरबहादुर पुनले बताए । पाँच वर्षदेखि घलेम्दीमा सुरुङमार्गको सहइन्चार्ज भएर काम गरिरहेका पुन गाउँमै रोजगारी पाएपछि मख्ख छन् ।

त्यसैगरी, स्थानीयवासी नरेश पुन केही वर्ष कतार बसेर स्वदेश फर्किए । गाउँकै सबै युवा जलविद्युतका काममा व्यस्त बनेको देखेर उनमा विदेशमोह हट्यो । तीन वर्षदेखि पुन घलेम्दीमै कामदारका नाइके छन् । ‘म विदेश जाने बेलामा जलविद्युत् आयोजना बन्ने भन्ने हल्ला मात्रै थियो, फर्केर आउँदा सबै निर्माण चरणमा थिए’–नरेश भन्छन्–‘क्षमता अनुसारको काम पनि पाइयो, अहिले ठिकै छ ।’ गाउँमै पाएको जागिरले पुनलार्ई कतारको भन्दा बढी सन्तुष्टि दिएको छ । उनले भने–‘काम गर्ने हो भने नारच्याङ र आसपासका कोही पनि युवा त्यतिकै बस्नु पर्दैन, कामदार नभएर कम्पनीले बाहिरबाट ल्याउँछन् त्यसको फाइदा हामीले उठाउन सक्नुपर्छ ।’

घलेम्दी र मिस्त्रीखोला आयोजनाले भारी बोक्नेदेखि गिट्टी, बालुवा कुट्नेसम्म स्थानीयवासीलाई प्राथमिकता दिएका छन् । उनीहरूले क्षमता र कम्पनीको नियमअनुसार १५ हजारदेखि ५० हजारसम्म मासिक तलब बुझ्छन् ।

स्थानीयवासी महेन्द्र गर्बुजाका अनुसार घलेम्दी र मिस्त्रीखोलामा दैनिक १५० जनाले काम पाइरहेका छन् । ‘अब नीलगिरिले पनि कामदार खोजिरहेको छ, अब त रोजीरोजी जागिर गर्न पाइन्छ’–गर्वुजाले भने–‘गाउँमा जलविद्युत् आयोजनाले नै परिवर्तन हुँदोरहेछ भन्ने कुरा बुझ्दैछौं ।’ स्थानीयवासीले आयोजनामा काम मात्र होइन, त्यहाँ काम गर्ने कामदारका लागि किराना पसलदेखि होटेल समेत सञ्चालन गरी आत्मनिर्भर बन्न थालेका छन् । घलेम्दीको विद्युत गृह र मिस्त्रीको बाँधस्थल एकै स्थानमा पर्छ ।

अहिले त्यहाँ करीब दुई सय कामदार छन् । त्यसैलाई लक्ष्य गरेर स्थानीयवासी धनबहादुर पुनले किराना पसल सञ्चालन गरेका छन् । त्यहाँको व्यापारबाट उनी सन्तुष्ट छन् । ‘कामदारले मात्र होइन जलविद्युत् आयोजनाको अवलोकनका लागि हरेक दिन विभिन्न ठाउँका पर्यटक पनि आउँछन् त्यसैले व्यापार राम्रै छ’–दुई वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका पुनले भने ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्