चितवन क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री पाण्डे विजयी

सहयात्रा टिभी

चितवन । जिल्लामा जारी मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (एमाले) का सुरेन्द्र पाण्डे विजयी भएका छन् ।

पाण्डेले ५१ हजार ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३६० मत प्राप्त गरेका छन् । पाण्डेले १५ हजार ७२० मतान्तरले बुर्लाकोटीलाई पराजित गरेका हुन् । सो क्षेत्रमा ८९ हजार ७४६ मत खसेको थियो । यस्तै चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभामा दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । चितवन क्षेत्र न ३ प्रदेशसभा (१) मा एमालेका तर्फबाट उम्मेद्वार कृष्ण भूर्तेल दुई हजार ४६ मत अन्तरले विजयी भएका छन् । उनले २३ हजार ४११ मत प्राप्त गर्दा उनका निकतटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश कोइराला २१ हजार ३६५ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (२) मा माओवादी केन्द्रका रामलाल महतो विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई नौ हजार ११६ मतले पराजित गरेका छन् । महतोले २५ हजार ६१ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेद्वार साजककुमार महतोले १५ हजार ९४ मत प्राप्त गरेका छन् ।

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतअन्तर बढाउँदै लगेका छन् । उनले अहिलेसम्म गणना भएको ६८ हजार ५९२ मतमध्ये ३६ हजार ५७७ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २७ हजार १११ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्