केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘बेलढुङ्गा’ बन्यो पर्यटन गन्तव्य

सहयात्रा टिभी

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लिको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुङ्गा दृष्यावलोकनका लागि सुन्दर गन्तव्य बन्न थालेको छ ।

समुद्री सतहदेखि करीब दुई हजार ८ सय मिटर उचाइमा अवस्थित बेलढुङ्गा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न थालेको हो । जिल्लाको सदरमुकाम बेनीबाट नजिक रहेको बेलढुङ्गाबाट म्याग्दीका अधिकांश भू–भागका साथै बाग्लुङ, पर्वत, कास्की, गुल्मी जिल्लाका भू–भाग देखिने बेनपा–३ का वडा सदस्य रत्न जिसीले बताए । ‘म्याग्दीको प्रसिद्ध धार्मिकस्थल स्वर्गाआश्रमबाट करिब ४५ मिनेटको दूरीमा छ, यहाँ रहेको विशाल चट्टानबाट विभिन्न हिमशृंखला, भौगोलिक विविधता, चार जिल्लाका दर्जनौं ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ’–उनले भने ।

भकिम्लिको मुसुङ, डोले, भुकभुके गाउँबाट करीब डेढ घण्टाको दूरीमा रहेको बेलढुङ्गामा पुग्नु अगाडि धार्मिकस्थल स्वर्गाआश्रम, तपस्यास्थल, प्राचीनकालीन अवस्थामा निर्मित पोखरी, विश्रामस्थल समेत देखिने गरेको छ । पदयात्रामा रमाउने आन्तरिक पर्यटकले घना बस्तीलाई थिचोल्दै पहाडको शीरमा रहेको विशाल चट्टानमा बसेर दृष्य अवलोकन गर्न पाउनु यहाँको प्रमुख आर्कषण रहेको जिसीको भनाइ रहेको छ ।

बेलढुङ्गा आसपासको क्षेत्रबाट धौलागिरी, गुर्जा, चुरेन, निलगिरीलगायत दर्जन हिमशृंखला, लालीगुराँसको घना जङ्गल, वन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्य देखिन्छ । जङ्गलको बीचमा रहेको अग्लो ढुङ्गासम्म पुगेपछि त्यहाँ करीब ३० जना बस्न मिल्ने ठाउँ समेत रहेको स्थानीय युवा तारामिलन छन्त्यालले बताए । गोलो आकारको ढुङ्गाको माथिल्लो भागमा बसेर मिनी वनभोजको समेत आयोजना गर्न सकिन्छ । प्राचीनकालमा तपस्या गर्ने गएका सप्तऋषिले तपस्या गर्ने क्रममा ठूला पत्थरमा बनाएको बाटो हुँदै पुगिने उक्त ठाउँलाई सप्त ऋषि बेलढुङ्गा समेत भन्ने गरिन्छ ।

स्वर्गाआश्रमदेखि बेलढुङ्गासम्म प्राचीनकालमा सप्तऋषिले तपस्या गरेका स्थान अहिले पनि सजिलै पहिचान गर्न सकिन्छ । जोखिमपूर्ण तरिकाले पुगे पनि फर्कने बेलामा सहज हुने गरेको स्थानीयले बताउँछन् ।
हरेक वर्षको वैशाख १ गते स्वार्गाआश्रममा हुने पूजामा सरोकारवाला निकायलाई समेत निमन्त्रणा गरी भित्र्याउने गरिएको छ । बेनी नगरपालिकाले नगरभित्रका पर्यटकीयस्थलको प्रचार–प्रसारका साथै आवश्यक पूर्वाधार विस्तारमा प्राथमिकता दिने जनाएको छ । नगरभित्रका सबै पर्यटकीयस्थलको प्रचार–प्रसार र पूर्वाधार विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्