केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रत्यक्षतर्फ बैतडीमा झण्डै नौ प्रतिशत मत बदर

सहयात्रा टिभी

बैतडी । मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकोमा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकोमा तीन हजार १३६ मत बदर भयो भने (ख) मा ३८ हजार १५५ मत खसेकोमा दुई हजार ५९० मत बदर भएका छन् । समग्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभामा कूल खसेको मतमध्ये आठ दशमलव नौ प्रतिशत मत बदर भएको छ ।
मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको हो । जिल्लामा १८२ मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिए पनि स्वयम्सेवक नै मतदाता शिक्षाका विषयमा अलमल हुँदा बदर मतको संख्या बढेको स्थानीयवासीले बताएका छन् । स्थानीय तहको निर्वाचनमा दुई दशमलव ३५ प्रतिशत मात्रै मत बदर भएको थियो ।

ढिलो गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनुले पनि बदर मतको संख्या बढेको हुन सक्ने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमको भनाइ छ । बदर मतले मतपरिणाममा समेत असर पुग्ने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थी बताउँछन् ।

मतदाता शिक्षा स्वयम्सेवकहरु औपचारिकताका लागि मात्रै गाउँघरमा पुग्ने गरेकाले पनि मतदाता शिक्षा प्रभावकारी नभएको हो । समानुपातिकतर्फको मतगणना जारी रहँदा प्रत्यक्षतर्फको भन्दा समानुपातिकमा बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ छ ।

प्रकाशित : 12 December, 2017

प्रतिक्रिया दिनुहोस्