केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एउटै गाउँबाट एक करोडको दूध बिक्री

सहयात्रा टिभी

म्याग्दी । आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् ।

बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक एक करोड कमाउन थालेपछि सिंगाको चर्चा अहिले जिल्लाभरी हुन थालेको छ । सिंगा गाउँबाट मात्रै वार्षिक करीब एक करोडको दूध निर्यात हुने गरेको छ ।

दूध बिक्री गरेर मासिक प्रतिव्यक्ति ४० हजारदेखि एक लाखसम्म कमाउने गरेका सिंगाका नवराज पौडेलले बताए । खाडी मुलुक कतारबाट फर्किएपछि गाउँमै भैंसी खरिद गरी दूध बेच्न थालेका बेनपा–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक एक लाखभन्दा बढी कमाउन थालेको जानकारी दिए । उनले २०६८ सालमा एक लाख लगानीमा दुई वटा भैंसी खरिद गरेर दूध बेच्न थालेका हुन् । दूधबाट राम्रो आम्दानी देखेपछि केसीले अहिले छ वटा भैंसी र एउटा उन्नत जातको जर्सी गाईबाट दैनिक ७० लिटर दूध बजारमा लैजाने गरेका छन् । केसी मात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिकरुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन् ।

गाउँमा जनभावना दुग्ध सहकारी संस्था स्थापना भएपछि घर–घरमा व्यावसायिक पशुपालनका लागि प्रोत्साहित गरिएको छ । सहकारीमार्फत ३ सय र किसानले व्यक्तिगत रुपमा १५० लिटर दूध बजारमा पु¥याउने गरेको सहकारीका सञ्चालक कोपीलाल पौडेलले बताए । ‘एक करोड त हिसाबै देखिन्छ । योभन्दा धेरै बिक्री हुन्छ’–पौडेलले भने । बजारमा प्रतिलिटर ८५ सम्म बिक्री हुने भए पनि किसानले भने ६५ प्रतिलिटरमा सहकारीलाई दूध बेच्दै आएका छन् ।

गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन् भने करीब ४२ घरमा व्यावसायिक रुपमा गाई–भैंसी पालिएको छ । पशुसेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कार समेत प्राप्त गरेको सहकारीले संकलन गरेको दूध बजार लैजान कर्मचारी समेत परिचालन गरेको छ । सहकारीमार्फत दूध बेच्ने किसानका नाममा सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले लगानी समेत गर्ने भएकाले पनि किसान सहकारीको अभियानमा आकर्षित भएका छन् ।

प्रकाशित : 12 December, 2017

प्रतिक्रिया दिनुहोस्